बार्सिलोनाका ‘नम्बर वान टार्गेट’ डि लिग्ट युभेन्टस पुगे

एजेन्सी, साउन १
इटालियन क्लब युभेन्टसले युवा डच डिफेन्डर माथिस डि लिग्ट टुरिन उत्रिएको पुष्टि गरेको छ । डच क्लब आयाक्सका डिफेन्डर विशेष विमानमार्फत् गत राति इटालीको टुरिन उत्रिएका हुन् ।

युभेन्टसले आफ्नो अफिसियल ट्वीटर तथा फेसबुक पेजमार्फत् डि लिग्ट सरुवा प्रक्रिया पूरा गर्न टुरिन आइपुगेको भिडियो तथा तस्बिरहरू पोस्ट गर्दै यसको जानकारी दिएको हो ।

युभेन्टसले यो समयका चर्चित १९ वर्षीय युवा डिफेन्डरलाई आयाक्सबाट ७५ मिलियन युरोमा अनुबन्ध गरेको हो । हालसम्म उसले अनुबन्धको औपचारिक घोषणा गरिसकेको छैन । तर, आज दुवै क्लबले खेलाडी किनबेचको घोषणा गर्दैछन् ।

युभेन्टसले डि लिग्टको आजै स्वास्थ्य जाँच गरेर अर्को दिन टुरिनमा सार्वजनिक गर्ने सम्भावना छ । यसअघि डि लिग्टलाई स्पेनको क्लब बार्सिलोनाले भित्र्याउन खोजेको थियो । तर, युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोले डि लिग्टलाई युभेन्टस आउन अनुरोध गरेपछि एकाएक उनी युभेन्टस सर्ने चर्चा सुरु भएको थियो ।

डि लिग्ट उनै खेलाडी हुन्, जसले गत सिजन च्याम्पियन्स लिगमा आयाक्सले युभेन्टसलाई क्वार्टरफाइनलबाट आउट गराउँदा निर्णायक गोल गरेका थिए । आफ्नो घरमा भएको सो खेल युभेन्टस २–१ ले हारेको थियो ।

प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ०३:०९
Loading...