‘मेस्सीलाई महासंघको कारबाहीबाट जोगाउन’ उच्च खेल न्यायलयले गर्‍यो यस्तो निर्णय

एजेन्सी, असार ३१
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनल मेस्सी यतिबेला दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) को सम्भावित कारबाहीसँग जुधिरहेका छन् । हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल दौरान ‘महासंघ एक भ्रष्ट संस्था भएको’ भनेर आरोप लगाएका मेस्सीको विषयमा के गर्ने भनेर महासंघले यसै साता निर्णय गर्दैछ ।

त्यसअघि अर्जेन्टिनी फुटबल संघअन्तर्गतको ‘उच्च खेल न्यायलय’ले भने आफ्ना कप्तान मेस्सीलाई आफ्नो अभिव्यक्ति–आरोप फिर्ता लिएर सार्वजनिक रूपमा क्षमा माग्न सुझाव दिएको छ । अर्जेन्टिनी मिडियाका अनुसार सोमबार संघअन्तर्गत रहेको खेल न्यायलयका एक सदस्यले आफूहरू यतिबेला मेस्सी र अर्जेन्टिनी फुटबल संघलाई समेत सम्भावित कारबाहीबाट जोगाउन गम्भीर भएर लागेको बताएका छन् ।

यता, अर्जेन्टिनी फुटबल संघ पनि यतिबेला खेलाडीमाथि मात्रै नभएर आफूमाथि हुनसक्ने सम्भावित कारबाही टार्न पनि मेस्सीमै निर्भर देखिन्छ । संघको उच्च न्यायलयका सदस्य गुस्टाभो एब्रेउले मेस्सीले आफ्नो अभिव्यक्ति फिर्ता लिए धेरै कुरा मिल्ने बताएका छन् । यदि मेस्सीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी मागे महासंघले कडा कदम नचाल्ने उनी बताउँछन् ।

‘हामी मेस्सीलाई आत्मआलोचना गर्न र क्षमा माग्न सल्लाह दिनेछौं । उनलाई सम्भावित कारबाही र प्रतिबन्धबाट जोगाउन यो नै सबैभन्दा सहज बाटो हो,’ गुस्टाभोले भने, ‘हामीले पनि मेस्सीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर क्षमा माग्नुपर्छ भन्ने निचोड निकालेका छौं ।’

गुस्टाभोले आफूहरूले औपचारिक रूपमै अर्जेन्टिनी फुटबल संघलाई पत्र लेखेर मेस्सीलाई माफी माग्न लगाउने र क्षमा मगाउन सुझाव दिने तयारी गरेको बताए । ‘महासंघले कदम चाल्नुअघि नै हामीले आफ्नो तर्फबाट गर्न सक्ने गर्नुपर्छ,’ गुस्टाभोले भनेका छन् ।

गुस्टाभोले खेलाडीले खेल दौरान आवेशमा आएर लगाएको आरोपका कारण स्वयं खेलाडीमाथि ठूलो कारबाही हुनेदेखि लिएर अर्जेन्टिनी फुटबल संघसमेत कारबाहीमा पर्न सक्ने बताए । ‘मेस्सीले कस्तो अवस्थामा आरोप लगाए, त्यो हामी राम्रोसँग बुझ्दछौं । तर, यस्तो आरोपले उनी मात्रै कारबाहीमा पर्दैनन्, संघमाथि पनि कारबाही हुन्छ । यो भावना वा आवेशमा बग्ने विषय होइन । त्यसो भए अर्जेन्टिनी फुटबल संघबाट २०२० को कोपा अमेरिका आयोजनाको अधिकार खोसिन सक्छ,’ उनले भने ।

गुस्टाभोले खेल दौरान आफ्ना खेलाडीप्रति अनुशासनहीन कार्य भएको निचोड निकालेको भन्दै त्यसका लागि अर्जेन्टिनी फुटबल संघले आयोजकलाई पत्रर लेखेर ध्यानकर्षण गराउनेसमेत बताए ।

गत जुलाई ३ मा प्रतियोगिताको सेमिफाइनलअन्तर्गत आयोजक ब्राजिलविरुद्ध भएको खेलमा अर्जेन्टिनी २–० ले हारेको थियो । सो खेलमा आफूहरूले पाउने दुई पेनाल्टी निदएर रेफ्रीले ब्राजिललाई सघाएको भन्दै खेलपछि कप्तान मेस्सीले रेफ्रीको कडा आलोचना गर्दै आक्रोशित अभिव्यक्ति दिएका थिए ।

त्यसपछि जुलाई ७ मा तेस्रो स्थानका लागि चिलीसँग भएको खेल दौरान मेस्सी खेलको ३७औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । चिलीका कप्तान ग्यारी मेडेल र मेस्सी आपसमा जुधेपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए । सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो ।

सो खेलपछि मेस्सीले मिडियासँग बोल्दै आक्रोशित मुद्रामा ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’ आरोप लागउँदै ‘आफूहरू भ्रष्टचारको अंग नबन्ने’ बताएका थिए । उनले कोपाको उपाधि ब्राजिललाई जिताउन ‘सबै कुरा सेटिङ’ भएको आरोपसमत लगाएका थिए ।

त्यत्ति मात्रै हैन, अर्जेन्टिना प्रतियोगिताको तेस्रो स्थानको विजेता बने पनि मेस्सीले ‘आफू भ्रष्टाचारको साक्षी नहुने’ भन्दै मेडल लिनसमेत अस्वीकार गरेका थिए ।

अब ४७औं संस्करणको कोपा अमेरिका सन् २०२० मा अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्दैछन् । मेस्सी हाल बिदामा छन् । उनी हालसम्म बार्सिलोनाको प्रि–सिजन प्रशिक्षणमा फर्किएका छैनन् ।

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार १५:२५
Loading...