बार्सिलोनाले ‘नेइमार फर्काउन’ पिएसजीसँग गर्‍यो यस्तो ‘बम्पर अफर’ !

एजेन्सी, असार ३०
स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वस्टार खेलाडी नेइमार फर्काउन पहिलोपटक अफिसियल प्रस्ताव पिएसजीसँग गरेको छ । यस्तो रिपोर्ट स्पेनिस मिडियाले छापेका छन् । ‘एएस’ र ‘मार्सा’का अनुसार बार्सिलोनाले २७ वर्षीय ब्राजिलियन स्टार नेइमारको फिर्तीका लागि दुई स्टार खेलाडीसहित निश्चित रकमसमेत दिने गरी प्रस्ताव गरेको हो ।

जसमा बार्सिलोनाले पिएसजीलाई आफ्ना ब्राजिलियन स्टार मिडफिल्डर फिलिपे कोउटिन्हो र फ्रेन्च विंगर उसामान डेम्बेले गरी दुईजना खेलाडी प्रस्ताव गरेको छ । सँगै, ४० मिलियन युरो रकमसमेत प्रस्ताव गरेको छ ।

बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा अनुबन्ध गरेको थियो भने कोउटिन्होले अघिल्लो वर्षको जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

बार्सिलोनाले डेम्बेले र कोउटिन्होका लागि खेर्चेको खरिद मूल्य २६५ मिलियन हुन्छ । त्यसैगरी, उसले दिन तयार ४० मिलियन रकमसमेत जोड्दा नेइमारको मूल्य ३०५ मिलियन कायम हुन्छ ।

बार्सिलोनाले नेइमारका लागि तिर्न तयार रकम पिएसजीले माग गरेभन्दा बढी हो । यसअघि पिएसजीले कम्तीमा ३०० मिलियनभन्दा कम मूल्यमा कुनै हालतमा नेइमार नदिने भएर अडान लिएको रिपोर्ट आएको थियो ।

बार्सिलोनाले नेइमारलाई २५ वर्षको उमेरमा सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजीलाई बेचेको थियो । २ वर्षपछि बार्सिलोनाले आफैंले बेचेका खेलाडीलाई ८३ मिलियन बढी हालेर भित्र्याउने तयारी भएको छ ।

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार ०९:३५
Loading...