सरुवा चर्चाबीच नेइमार पिएसजीको ट्रेनिङमा फर्किए

एजेन्सी, असार ३१
पूर्वक्लब बार्सिलोना फर्किने चर्चामा रहेका ब्राजिलियन खेलाडी नेइमार पिएसजीको प्रि–सिजन प्रशिक्षणमा फर्किएका छन् । अहिले पनि नेइमार बार्सिलोना फर्किन र पिएसजी छाड्न प्रयास गरिहेका छन् ।

उनले यसअघि क्लबलाई आफू पुनः पेरिस नफर्किने भनेर सन्देश पठाएको खबर बाहिरिएको थियो । उनी सुरुका दिनमा प्रशिक्षणमा सहभागी नभएपछि क्लबले उनले पाउने बोनस रकममा समेत कटौती गरेको थियो । क्बलले उनीमाथि कारबाही गर्दै बोनस कटौती गरेको थियो ।

नेइमार सोमबार पिएसजीको जीम रुममा व्यस्त रहेको तस्बिर उनी आफैंले सार्वजनिक गरेका छन् । उनले अब पिएसजीको प्रशिक्षणमा निरन्तरता दिने बताइएको छ ।

नेइमार यसअघि ब्राजिलमा भएको कोपा अमेरिका खेल्न राष्ट्रिय टोलीमा पुगे पनि कतारसँगको मैत्रीपूर्ण खेल दौरान उनी चोट बोक्दै टिमबाहिर रहेका थिए । त्यसअघि पनि उनी पिएसजीमा घाइते भएर सिजनको अन्तिम समयमा टोलीबाहिर रहेका थिए ।

सोमबार मात्रै नेइमारले जिम रुममा काम गरिरहेको तस्बिर सामाजिक सन्जाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै आफू क्लब फर्किएको जानकारी दिएका छन् ।

नेइमार सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । तर, त्यहाँ उनले अपेक्षा गरेअनुसार सफलता पाउन नसकेपछि नेइमार बेखुसी भएर क्लब छाड्ने तयारीमा छन् ।

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार ०३:५४
Loading...