कसले जित्ला बालोन डि‘ओर ? यसो भन्छन् फुटबल विशेषज्ञ

एजेन्सी, असार ३०
सन् २०१९ को बालोन डि‘ओरको छिनोफानो हुन अझै साढे ४ महिना बाँकी नै छ । अवार्डका लागि यस वर्षको डिसेम्बर महिनासम्मको प्रदर्शन हेरिनेछ । तर, अहिलेबाटै यसपटक विश्व फुटबलको प्रतिष्ठित अवार्ड कसले जित्ला भनेर आ–आफ्नो अड्कलबाजी सुरु भइसकेको छ ।

यसपटक मुख्य दौडमा इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइक, स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनका लिओनल मेस्सी, इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा पोर्चुगलका बर्नान्डो सिल्भा, इंग्लिस क्लब लिभरपुल तथा ब्राजिलका गोलरक्षक एलिसन बेकर रहेका छन् । त्यसमा पनि भान डाइक र मेस्सीबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

यसैक्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक तथा हाल फुटबल विशेषज्ञका रूपमा काम गरिरहेका जोसे मोउरिन्होले यस विषयमा धारणा राखेका छन् । एक टिभी शोमा बोल्दै उनले हालसम्मको अवस्थामा मेस्सी र भान डाइक नै प्रतिस्पर्धी रहेको बताए । ‘आजका मितिसम्म भान डाइक र मेस्सी सबैभन्दा बलिया दोबदार देखिएका छन्,’ मोउरिन्होले भने, ‘विजेताका हिसाबले भान डाइक मेस्सीभन्दा बलिया दाबेदार हुन् ।’

मोउरिन्होले बालोन डि‘ओरका लागि व्यक्तिगत रेकर्ड र प्रदर्शन मुख्य हुने भए पनि उपाधि पनि मुख्य हुने बताए । ‘एकाध वर्ष छाड्ने हो भने यो अवार्ड जित्न गोल मात्रै भएर पुग्दैन, च्याम्पियन पनि बन्नुपर्छ,’ मोउरिन्होले थपे ।

मोउरिन्होले गत सिजन बार्सिलोनाबाट मेस्सीको शानदार व्यक्तिगत तथ्यांक भए पनि अर्जेन्टिनी टोलीबाट कोपा अमेरिका र बार्सिलोनाबाटै च्याम्पियन्स लिगको अफलता उनका लागि छैटौं बालोन डि‘ओर जित्न सबैभन्दा ठूलो बाधक बन्ने बताए ।

‘यदि मेस्सीले बार्सिलोनाबाट च्याम्पियन्स लिग र अर्जेन्टिनाबाट कोपा अमेरिकामध्ये एक मात्रै जितेको भए उनले जित्नेमा कुनै शंका थिएन,’ मोउरिन्होले भने, ‘तर, यी दुई असफलताले बार्सिलोनामा उनको ५१ गोल र १९ असिस्ट मात्रै पर्याप्त हुँदैन । किनभने, उनी ला लिगाको मात्रै विजेता हुन् ।’

त्यसैगरी, मोउरिन्होले युभेन्टसका रोनाल्डो पनि प्रतिस्पर्धामा रहने बताए । ‘क्रिस्टियानोले फरक क्लबमा गएर दुई उपाधि जिते, लिगको सर्वोत्कृष्ट खेलाडी बने, पोर्चुगललाई आफ्नै प्रेरणामा नेसन्स लिग जिताए,’ मोउरिन्होले भने, ‘उपाधिका हिसाबले क्रिस्टियानोसँग भान डाइक र मेस्सीभन्दा दुईटा बढी ट्रफी छन् । के उनी बालोन डि‘ओरको हकदार छैनन् ?’

प्रकाशित मिति ३० असार २०७६, सोमबार १५:४०
Loading...