म त्यो क्लबबाट खेल्न गइरहेको छु, जहाँ रोनाल्डो छन् : रामेसी

एजेन्सी, असार ३०
इटालियन क्लब युभेन्टसका नयाँ अनुबन्धित मिडफिल्डर आरोन रामेसीले आफूले युभेन्टसलाई युरोपियन च्याम्पियन बनाउन सक्दो योगदान दिने बताएका छन् । हालै इंग्लिस क्लब आर्सनलबाट युभेन्टस पुगेका वेल्स खेलाडीले आज टुरिनमा सार्वजनिक भएपछि यस्तो बताएका हुन् ।

युभेन्टसले आज २८ वर्षीय रामेसीलाई घरेलु रंगशालामा सार्वजनिक गरेको हो । त्यसपछि आयोजित पत्रकार सम्मेलनमा भाग लिँदै उनले पत्रकारको प्रश्नको जवाफ दिए । त्यसक्रममा उनले आफ्ना लागि युभेन्टस सही क्लब भएकाले इटाली आएको बताए ।

‘जब युभेन्टसबाट अफर आयो, मैले मेरा लागि यही नै सबैभन्दा उचित क्लब हो भन्ने निष्कर्ष निकालें । म यहाँ आउन पाउँदा एकदमै खुसी छु । म एक ठूलो क्लबको जर्सी लगाउँदैछु,’ रामेसीले भने ।

रामेसीले नयाँ सहकर्मीसँग खेल्न निकै आतुर रहेको पनि बताए । ‘म अहिले चोटबाट ठीक हुनेक्रममा छु । म नयाँ टिमसँग खेल्न निकै आतुर छु । म कहिलेसम्ममा फिट हुन्छु थाहा छैन । तर, म कोसिस गरिरहेको छु,’ रामेसीले भने ।

रामेसीले युभेन्टसमा क्रिस्टियानो रोनाल्डोजस्ता विश्वकै उत्कृष्ट खेलाडी भएकाले उनीसँग खेलेर युरोपियन च्याम्पियन बन्न थप सहज हुने बताए । ‘म त्यो क्लबबाट खेल्न गइरहेको छु, जहाँ रोनाल्डोजस्ता च्याम्पियन खेलाडी छन्,’ रामेसीले भने, ‘उनीजस्ता खेलाडीसँग खेल्न पाउनु खुसीको कुरा हो ।’

रामेसीले युभेन्टसमा ८ नम्बर जर्सी लगाउनेछन् । मिडफिल्डमा निकै प्रभावशाली खेलाडी मानिने उनको उपस्थितिपछि युभेन्टसको मिडफिल्ड थप धारिलो र सन्तुलित बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति ३० असार २०७६, सोमबार १४:३०
Loading...