नयाँ मोडमा कोउटिन्हो : बार्सिलोना छाड्न तयार !

एजेन्सी, असार ३०
स्पेनिस बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्ला इंग्लिस तथा स्पेनिस मिडिया रिपोर्टअनुसार बार्सिलोनाको व्यवस्थापनका कारण कोउटिन्हो अहिले बेखुसी छन् ।

बार्सिलोनाले आफूलाई अन्य खेलाडी खरिदका लागि माध्यम बनाउने तयारी गरेको बुझेपछि कोउटिन्हो बार्सिलोनासँग रुष्ट छन् । हाल बार्सिलोना आफ्ना पूर्वखेलाडी नेइमार फर्काउन लागिपरेको छ । त्यसका लागि उसले पिएसजीलाई कोउटिन्होसहित आफ्ना केही खेलाडी दिन चाहन्छ ।

तर, कोउटिन्हो पिएसजी नजाने कुरा उनका एजेन्ट किया जुर्वाचिनले प्रष्ट पारिसकेका छन् । दुई दिनअघि उनले एक मिडियासँग बोल्दै ‘यदि बार्सिलोनाले नेइमार फर्काउन कोउटिन्होलाई फ्रान्स पठाउने तयारी गरेको भए त्यो आफूहरूले मान्नैपर्ने दबाब नरहेको’ भन्दै त्यसको जनाउ दिइसकेका छन् ।

बार्सिलोनाले नेइमार फर्काउन कोउटिन्होसहित फ्रेन्च खेलाडीद्वय उसामान डेम्बेले, सामुएल उम्टिटी र पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोमध्ये ३ जना खेलाडी दिन तयार छ ।

तर, बार्सिलोनाको इतिहासकै सर्वाधिक महँगा खरिद खेलाडी कोउटिन्हो बार्सिलोना छाडेर पिएसजी जान तयार देखिँदैनन् । उनी अन्य इंग्लिस क्लबसमेत जान राजी छैनन् । यो अवस्थामा उनी पूर्वक्लब लिभरपुल नै फर्किन तयार हुने उनका एजेन्टले जनाउ दिएका छन् ।

यता, इंग्लिस मिडियाले लिभरपुलले बार्सिलोनाबाट आफ्ना पूर्वखेलाडी कोउटिन्होलाई लोनमा भए पनि फर्काउने अफर बार्सिलोनासँग गर्न लागेको खबर प्रकाशित गरेका छन् । लिभरपुलका कोच जोर्गेन क्लोपको प्राथमिकतामा पर्ने कोउटिन्हो फ्रेन्च क्लबभन्दा लिभरपुल फर्किने निर्णय लिने सम्भावना प्रबल देखिन्छ ।

हालै उनका एजेन्टले जुर्वाचिनले पनि बार्सिलोनाले कोउटिन्होको भविष्यसँग खेलबाड गर्न लागेको भनेर प्रतिक्रिया दिइनुले बार्सिलोनामा कोउटिन्होको भविष्य सुरक्षित छैन भन्ने बुझिन्छ । यता, बार्सिलोनाले डच मिडफिल्डर फ्रेन्की डे जोङ र एन्टोनी ग्रीजम्यान अनुबन्ध गरेकाले टिममा आफूलाई थप कठिन पर्नेबारे कोउटिन्हो जानकार रहेका छन् ।

कोउटिन्होका एजेन्टले भनेका छन्, ‘यदि लिभरपुलबाट जुनसुकै प्रकारको प्रस्ताव आए पनि कोउटिन्हो त्यसमा खुला हुनेछन् । उनी फ्रान्स जाँदैनन् ।’

बार्सिलोनाले डेढ वर्षअघि लिभरपुलबाट कोउटिन्होलाई १४२ मिलियन पाउन्डमा भित्र्याएको थियो । तर, गत सिजन लयमा प्रदर्शन गर्न नसक्दा बार्सिलोना उनीसँग सन्तुष्ट हुन सकेको छैन ।

प्रकाशित मिति ३० असार २०७६, सोमबार १३:०५
Loading...