‘ग्रीजम्यान भित्र्याए पनि बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सक्दैन’

एजेन्सी, असार ३०
स्पेनिस बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग जित्न नसकेको चार वर्ष भइसक्यो । सन् २०१५ मा ट्रिबेल उपाधि जितेपछि बार्सिलोनाले फेरि सो उपाधि जित्न सकेको छैन । त्यसयता बार्सिलोना तीन वर्ष क्वार्टरफाइनलबाटै आउट भयो भने गत सिजन सेमिफाइनलबाट आउट भयो ।

तर, बार्सिलोनाले आगामी सिजन सबैखाले उपाधि जित्ने लक्ष्यसाथ हालै फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानलाई भित्र्याएको छ । उसले युवा डच मिडफिल्डर फ्रेन्की डे जोङलाई पनि अनुबन्ध गरेको छ । यस हिसाबले हेर्दा बार्सिलोना नयाँ सिजनका लागि बलियो टोली देखिन्छ ।

तर, बार्सिलोनाकै पूर्वखेलाडी रिभाल्डोले भने बार्सिलोनाले अझै पनि ठूला उपाधि जित्न सहज नभएको बताए । स्पेनिस मिडियासँग कुरा गर्दै उनले ग्रीजम्यान अनुबन्धपछि पनि बार्सिलोनाले च्याम्पियन्स लिगको असफलता पन्छाउन कठिन हुने बताए ।

‘बार्सिलोनामा ठूला प्रतियोगितामा गोल गर्न सक्ने एक खेलाडी आवश्यक थियो, यसको अभाव अब ग्रीजम्यानले टार्नेछन्,’ रिभाल्डोले भने, ‘उनी गोलकर्ता खेलाडी हुन् । बार्सिलोनालाई उनले धेरैथोक दिन सक्छन् ।’

तर, बार्सिलोनामा यतिबेला आक्रमण लाइन मात्रै समस्या नभएको रिभाल्डो बताउँछन् । उनले पछिल्ला सिजनको असफलता नियाल्दा बार्सिलोनामा रक्षापंक्ति र मिडफिल्डमा प्रमुख समस्या देखिएको बताए । ‘ग्रीजम्यान आए पनि बार्सिलोनाले ठूला उपाधि जित्ने निश्चित छैन । किनभने, बार्सिलोनामा यतिबेला फरवार्डभन्दा बढी रक्षापंक्तिमा सुधार आवश्यक छ । तर, क्लब डिफेन्डर भित्र्याउनुभन्दा फरवार्ड भित्र्याउनमा केन्द्रित देखिन्छ । यसले थप समस्या बढाउँछ ।’

बार्सिलोनामा गोलकर्ता खेलाडीको अभाव नरहेको भन्दै रिभाल्डोले रक्षापंक्ति र मिडफिल्डमा युवा खेलाडी भित्र्यानुपर्नेमा त्यस्तो नभएको बताए । ‘यदि म बार्सिलोनाको निर्णायक तहमा थिएँ भने युवा डिफेन्डर र मिडफिल्डर भित्र्याउन बजेट लगाउँथे । किनभने, क्लबमा अहिले समस्या गोलमा नभएर रक्षापंक्तिमा छ भन्ने कुरा पछिल्लो सिजनबाट प्रष्ट हुन्छ ।’

ग्रीजम्यान बार्सिलोना पुगेपछि अब बार्सिलोनाको आक्रमण लाइनमा आधा दर्जनभन्दा बढी खेलाडी उपलब्ध छन् । नयाँ सिजनमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, ग्रीजम्यान, उसामान डेम्बेले, फिलिपे कोउटिन्हो र माल्कोमलाई क–कसलाई खेलाउने भन्ने निर्णय लिन कठिन हुने देखिन्छ ।

त्यसमा बार्सिलोना अझै पनि पूर्वखेलाडी नेइमार भित्र्याउने दौडमै छ । यदि नेइमार पनि फर्किए बार्सिलोनामा आक्रमण लाइनमा थप भीड बढ्नेछ ।

प्रकाशित मिति ३० असार २०७६, सोमबार १०:०५
Loading...