सेनेगल र अल्जेरिया अफ्रिका कपको फाइनलमा

काठमाडौं, असार ३०
सेनेगल र अल्जेरिया इजिप्टमा जारी ‘अफ्रिका कप अफ् नेसन्स’ फुटबलको फाइनल प्रवेश गरेका छन् । गत राति भएका दुई सेमिफाइनल खेलबाट फाइनल पुग्ने टिमको टिमको टुंगो लागेको हो ।

पहिलो सेमिफाइनलमा खेलमा सेनेगलले ट्युनिसियालाई १–० ले हराउँदै फाइनल प्रवेश गर्न सफल भयो । फाइनल पुग्न सेनेगलका लागि उपहार गोल आत्मघाती बनेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोस्रो हाफमा समेत दुवै टिमबाट गोल हुन सकेन । त्यसबीचमा दुवै टिमले पटक–पटक गोलका मौका बनाए पनि गोल निस्कन नसक्दा खेल ९० मिनेटपछि थप समय गएको थियो ।

तर, खेलको १००औं मिनेटमा सेनेगललाई भाग्यले साथ दियो । जहाँ ट्युनिसियाका डाइलान ब्रोनले आफ्नै पोस्टमा गोल गरेपछि खेल सेनेगलले १–० ले जित्यो ।

यता, अर्को खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ ले हराउँदै फाइनलमा सेनेगलसँगको भेट तयमर गर्न सफल भयो । यस खेलमा पनि एक आत्मघाती गोल भयो भने एक गोल पेनाल्टीबाट भयो ।

खेलको ४०औं मिनेटमा नाइजेरियाका विलियम ट्रोस्ट इकोङले आफ्नो पोस्टमा गोल गरेपछि अल्जेरियमले १–० को अग्रता लियो । तर, खेलको ७२औं मिनेटमा नाइजेरियाले पेनाल्टी पायो ।

जसमा ओडिओन इघालोले कुनै गल्ती नगरी गोल गर्दै खेल १–१ बनाए । तर, खेलको ९० मिनेटपछि थपिएको इन्जुरी समयमा अल्जेरियाका लागि रियाद महारेजले गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।

अब प्रतियोगिताको उपाधिका लागि फाइनलमा शुक्रबार सेनेगल र अल्जेरिया भिड्नेछन् । सेमिा पराजित ट्युनिसिया र नाइजेरिया तेस्रो स्थानका लागि बुधबार खेल्नेछन् ।

प्रकाशित मिति ३० असार २०७६, सोमबार ०३:३७
Loading...