मार्टिनेजका एजेन्टले मेस्सीलाई हाने यस्तो ‘कडा व्यंग्य’ !

एजेन्सी, असार २९
अहिले पनि स्पेनिस क्लब बार्सिलोनाले आफ्ना उरुग्वेन फरवार्ड लुइस स्वारेजको दीर्घकालीन विकल्पमा नयाँ युवा फरवार्डको खोजी गरिरहेको छ । त्यसका लागि उसले इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजमाथि नजर लगाएको छ ।

केही समयअघि ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले उनीमाथि चासो बढाएको थियो । क्लब मिलान स्वयंले पनि मार्टिनेजमाथि बार्सिलोनाको चासो रहेको स्वीकारेको छ ।

बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीको सुझावमा बार्सिलोनाले ढिलो–चाँडो मार्टिनेज भित्र्याउन फेरि प्रयास गर्नेछ । मेस्सी र उनी एकै देशका भएकाले बार्सिलोनामा उनीहरूको लय मिल्ने बार्सिलोनाको बुझाइ छ ।

तर, मार्टिनेजका एजेन्टले भने मेस्सीको नाम लिँदै व्यंग्यात्मक जवाफ फर्काएका छन् । बेटो याक्वीले यदि मेस्सी आफ्नो देशका मार्टिनेजसँग क्लबमा पनि सँगै खेल्न चाहन्छन् भने उनी बार्सिलोना छाडेर मिलान आए क्लबले भित्र्याउन सक्ने बताए । एजेन्टले बार्सिलोनाले मार्टिनेजका लागि आफूसँग सम्पर्क गरेको पनि पुष्टि गरेका छन् ।

‘यो सत्य हो कि, बार्सिलोनाले मार्टिनेजका लागि चासो दिएको छ । तर, अफिसियल प्रस्ताव भने आएको छैन । अनौपचारिक रूपमा मसम्म कुरा आएको छ । तर, मार्टिनेज कतै जाँदै छैनन्, उनी मिलानमै हुनेछ,’ एजेन्टले भने ।

एजेन्टले मेस्सीको नाम लिँदै व्यंग्य हान्नसमेत पछि परेनन् । उनले भने, ‘यदि मेस्सी मार्टिनेजसँग खेल्न चाहन्छन् भने उनी उनी मिलान आउन सक्छन् ।’

प्रकाशित मिति २९ असार २०७६, आईतवार ०९:४०
Loading...