एजेन्सी, असार २९
स्पेनिस क्लब बार्सिलोनाले हालै अनुबन्ध गरेका नयाँ खेलाडी एन्टोनी ग्रीजम्यान बार्सिलोना पुगेका छन् । उनी गत राति क्याम्प नोउ उत्रिएका हुन् । क्लब पुगेछि उनले पहिलो चरणको फोटो सुट गराएका थिए ।
बार्सिलोनाले घरेलु दर्शकमाझ आज ग्रीजम्यानलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । बार्सिलोनाले फ्रेन्च स्टार ग्रीजम्यानलाई १२० मिलियन युरोमा लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट ५ वर्षका लागि अनुबन्ध गरेको थियो ।
बार्सिलोना पुगेपछि ग्रीजम्यानले आफू नयाँ क्लबमा आउन पाउँदा निकै खुसी र उत्साहित भएको बताए । पहिलो चरणमा मिडियासँग प्रतिक्रिया दिएका उनले बार्सिलोनाबाट सकेसम्म धेरै उपाधि जित्न प्रयास गर्ने बताए ।
बार्सिलोनाले आफ्नो अफिसियल वेबसाइटमार्फत् ग्रीजम्यान सार्वजनिक गर्ने कार्यक्रम सार्वजनिक गरेको । नेपाली समयअनुसार कार्यक्रम तालिका यस्तो छ :
राति १० बजे – क्लबका अध्यक्षसँग सम्झौतापत्रमा हस्ताक्षर
राति १०ः४५ बजे – क्याम्प नोउमा सार्वजनिक तथा फोटो सुट
राति ११ः१५ बजे – पत्रकार सम्मेलनमा सहभागी
प्रकाशित मिति २९ असार २०७६, आईतवार ०२:५५