बालोन डि‘ओरबारे जाभीको यस्तो दाबी

एजेन्सी,असार २८
सन् २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओरका लागि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकबीच चर्को प्रतिस्पर्धा छ । हालको अवस्थामा यी दुवै खेलाडीलाई प्रमुख दाबेदार मानिएको छ भने लिभरपुल तथा ब्राजिलका गोलरक्षक एलिसन बेकर पनि पछिल्लो समय अगाडि आएका छन् ।

यसैक्रममा बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीले पनि यस वर्ष सो अवार्ड कसले पाउन सक्छ भन्नेबारे मत राखेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीजत्तिको योग्य उम्मेदवार अन्य कोही पनि रहेको बताएका छन् । जाभीले बालोन डि‘ओर व्यक्तिगत प्रदर्शनलाई हेरेर दिइने भएकाले टिमले जितेको उपाधि प्रमुख कुरा नहुने बताए ।

‘मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यो अवार्ड जित्न मेस्सी सबैभन्दा योग्य व्यक्ति हुन्, उनले गत सिजन बार्सिलोनाका लागि गरेको प्रदर्शन नै उनका लागि काफी छ,’ जाभीले भने, ‘व्यक्तिगत तथ्यांकमा उनलाई पछ्याउने कोही पनि छैन ।’

जाभीले बार्सिलोनाले च्याम्पियन्स लि र अर्जेन्टिनाले कोपा अमेरिका जित्न नसक्दा बालोन डि‘ओरमाथि मेस्सीको दाबेदारीमा कुनै फरक नपर्ने बताए । ‘यस वर्ष मेस्सीले च्याम्पियन्स लिग र कोपा अमेरिका जित्न सकेनन् । तर, यसले उनको व्यक्तिगत प्रदर्शनलाई खासै फरक पार्दैन,’ जाभीले भने ।

त्यसैगरी, जाभीले लिभरपुलका भान डाइकले टिमका रूपमा राम्रो गरे पनि व्यक्तिगत हिसाबमा उनको त्थयांक सामान्य मात्रै रहेको बताए । ‘उनले लिभरपुल र राष्ट्रिय टोलीबाट पनि राम्रो गरेका छन् । तर, बालोन डि‘ओर जित्न व्यक्तिगत तथ्यांक ठूलो कुरा हो,’ जाभीले भने ।

प्रकाशित मिति २८ असार २०७६, शनिबार १५:४४
Loading...