मेस्सीले जिते अर्को अवार्ड !

एजेन्सी, असार २७
अर्जेन्टिना तथा स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले अर्को अवार्ड जितेका छन् । उनलाई ‘बालोन एजुकेटिभ डि स्कोलास’ अवार्ड प्रदान गरिएको हो । इसाई धर्मगुरु पोप फ्रान्सिसले स्थापना गरेको स्कोलास अक्युरेन्टेस फाउन्डेसनले मेस्सीलाई सो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिकामा मेस्सीको व्यक्तिगत प्रदर्शन खराब रहेको भनेर आलोचना भइरहँदा सो संस्थाले भने मेस्सीलाई शानदार प्रदर्शन गरेको भन्दै सो अवार्ड दिने फैसला गरेको फाउन्डेसनले बताएको छ ।

हालै ब्राजिलमा सकिएको कोपामा अर्जेन्टिना तेस्रो टिम बनेको थियो । ऊ ब्राजिलसँग सेमिफाइनलमा २–० ले हारेको थियो । मेस्सीले प्रतियोगिताभरि जम्मा १ पेनाल्टी गोल गर्दै १ गोलका लागि असिस्ट गरेका थिए ।

सो अवार्डको निर्णयक्रममा मेस्सीले कूल ३४.२८ प्रतिशत मत पाएका थिए । त्यसपछि पेरूका एडिसन फ्लोरिजले १५.५६, पेड्रो गालिजले ११.२८ प्रतिशत मत पाउँदा ब्राजिलका ड्यानी अल्भेसले १०.५ प्रतिशत मत पाए ।

स्पेनिस मिडियाका अनुसार मेस्सीलाई सो अवार्ड प्रदान गर्नेक्रममा मोजाम्बिकका बालबालिकाले निर्माण गरेको बल राख्ने टबेलसँगै पोपको आशीवार्द प्रदान गरिएको थियो ।

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १४:४५
Loading...