म आराम गर्न युभेन्टस आएको होइन : रोनाल्डो

एजेन्सी, असार २७
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिटियानो रोनाल्डोले नयाँ सिजनमा आफूले टिमलाई सबैखाले उपाधि जिताउन सहयोग गर्ने र सक्दो योगदान दिने बताएका छन् । प्रि–सिजन सुरु हुन लान्दा रोनाल्डोले एक अन्तर्वार्ताक्रममा बोल्दै आगामी सिजन आफ्ना लागि थप विशेष हुने बताएका छन् ।

रोनाल्डोले युभेन्टस एक ठूलो र उत्कृष्ट खेलाडी भएको क्लब रहेको बताउँदै नयाँ सिजन युरोपियन प्रतियोगितामा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘युभेन्टस संसारकै उत्कृष्टमध्येको एक क्लब हो, हामीसँग उत्कृष्ट खेलाडी छन् । नयाँ सिजन हामी च्याम्पियन्स लिग जित्न उच्च प्रदर्शन गर्ने छौं,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफूले टिमलाई उपाधि जिताउन सबैखाले योगदान दिने पनि बताए । ‘म सधैं टिमको जितमा केन्द्रित हुन्छ । पोर्चुगल वा युभेन्टस, आफ्नो टिमलाई च्याम्पियन बनाउनु मेरो लक्ष्य हो,’ रोनाल्डोले भने, ‘नयाँ सिजन हामी धेरैभन्दा धेरै उपाधि जित्न प्रयास गर्नेछौं ।’

रोनाल्डोले धेरै मानिसले आफ्नो उमेरबारे चिन्ता गर्ने गरेको बताउँदै आफू अहिले पनि ठीकठाक खेल्न सक्ने बताए । ‘धेरै मानिसले मेरो उमेरलाई लिएर चिन्ता गर्ने गर्छन् । तर, यसमा म चिन्तित छैैन,’ रोनाल्डोले भने, ‘म यहाँ आराम गर्न आएको होइन । खेल्न आएको हुँ र धेरैभन्दा धेरै उपाधि जित्न आएको हुँ,’ रोनाल्डोले भने ।

हाल ३४ वर्ष पुगेका रोनाल्डोले युभेन्टसका लागि पहिलो सिजन कूल २८ गोल गर्दै १२ गोलका लागि असिस्ट गरेका थिए । पहिलो सिजन उनले युभेन्टसका लागि कूल ४३ खेल खेलेका थिए ।

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०३:३३
Loading...