‘आफूलाई व्यंग्य गर्ने’ अर्थुरलाई मेस्सीको यस्तो जवाफ !

एजेन्सी, असार २७
दुई दिनअघि ब्राजिलियन खेलाडी अर्थुर मेलोले अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीप्रति व्यग्यांत्मक टिप्पणी गरे । हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा पराजय भोगेपछि मेस्सीले ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’ र ‘ब्राजिललाई कोपा अमेरिका जिताउन मिलेमतो भएको’ भन्दै आरोप लगाएका थिए ।

अर्थुरले मेस्सीको आरोपको सन्दर्भमा बोल्दै ‘त्यो मेस्सीको निजी धारणा रहेको’ उल्लेख गर्दै अर्जेन्टिनाका खेलाडीलाई जति भ्रष्टचारबारे कुरा गर्न अरू कसैलाई नआउने’ बताएर मेस्सीप्रति व्यंग्य हानेका थिए ।

तर, अर्थुरले मेस्सीप्रति व्यंग्य गरेको एक दिनपछि मेस्सीले भने उनको व्यंग्यको जवाफमा अर्थुरको तारिफ गरेका छन् । अन्तर्राष्ट्रिय ड्युटी सकेर क्लब फुटबलमा सहभागी हुन स्पेन फर्किएका मेस्सीले ‘मार्सा’सँग कुरा गर्दै अर्थुरलाई बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीसँग तुलना गर्दै अर्थुर बार्सिलोनाका स्टार खेलाडी हुने बताएका छन् ।

२२ वर्षीय अर्थुरलाई बार्सिलोनाले अघिल्लो सिजन मात्रै २७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । बार्सिलोनामा पहिलो सिजन बिताएका उनले गहिरो प्रभाव पारिसकेका छन् । उनलाई धेरैले बार्सिलोनाका पूर्वकप्तान जाभीसँग तुलना गर्न थालेका छन् ।

‘उनी धेरै कुरामा जाभीजस्तै छन्, उनी जसरी खेल्छन् । उनी छोटा–छोटा पास खेल्न सिपालु छन् । प्रायः बल गुमाउँदैनन् । उनको यो खास विशेषता हो । उनको यही क्षमताले म चकित छु । यद्यपि, टिमका सबै खेलाडी मलाई मन पर्छ,’ मेस्सीले भने ।

मेस्सीले बार्सिलोना जसरी खेल्छ, अर्थुरसँग उस्तै शैली रहेको बताए । ‘हामी जस्तो शैलीले खेल्छौं, अर्थुरसँग पनि उस्तै शैली छ,’ मेस्सीले भने, ‘प्रशिक्षण दौरान उनले निकै छिटो बुझ्छन्, बल कता जाँदैछ र अब के हुनसक्छ भनेर उनलाई सजिलै थाहा हुन्छ ।’

मेस्सीले अर्थुरजस्ता राम्रा खेलाडीलाई फ्यानहरूले पनि मन पराउने बताए । ‘हाम्रा समर्थकहरू यस्तै खेलाडी मन पराउँछन्, जो बलसँग खेल्न सिपालु छन् । हामी सधैं बल नियन्त्रण्मा राखेर खेल्न खोज्छौं, अर्थुर यही शैलीका खेलाडी हुन्,’ मेस्सीले भने ।

अर्थुरले क्लबमा पूर्वखेलाडी जाभीको स्थान लिनसक्ने बताए । ‘यो सुरुआत हो । उनीसँग अझै प्रशस्तै समय छ । तर, उनी जाभीका उत्तराधिकारी बन्न सक्छन्,’ मेस्सीले भने ।

त्यसैगरी, मेस्सीले अर्टुरो भिडालको पनि तारिफ गरे । भिडालजस्ता खेलाडी टोलीमा हुनु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । ‘मेरो विचारमा अर्टुरोजस्ता खेलाडी टोलीमा हुनु ज्यादै महत्त्वपूर्ण कुरा हो । फुटबल रणनीतिले मात्रै खेलिँदैन, शारीरिक पक्ष पनि जरुरी हुन्छ,’ मेस्सीले भने, ‘भिडाल त्यस्तै खेलाडी हुन्, मलाई उनी मन पर्छ ।’

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०९:३४
Loading...