‘मेस्सीसँग जुध्ने’ मेडेल रातो कार्ड र मेस्सीबारे यसो भन्छन्

एजेन्सी, असार २७
अघिल्लो साता ब्राजिलमा भएको कोपा अमेरिका फुटबलअन्तर्गत तेस्रो स्थानका लागि अर्जेन्टिना र चिली भिड्दा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी र चिलियन कप्तान ग्यारी मेडेलले रातो कार्ड पाए । एकअर्कासँग जुधेपछि रेफ्रीले दुवै कप्तानलाई रातो कार्ड देखाएका थिए । पछि सो कार्ड अनावश्यक थियो भन्दै धेरैले आलोचना गरेका थिए ।

मेस्सीले त आफूले रातो कार्ड पाउनु नाजायज भएको भन्दै सो खेल अर्जेन्टिनाले २–१ ले जिते पनि मेडल लिन अस्वीकार गरेका थिए । खेलपछि उनले दिएका प्रतिक्रियाका कारण उनी विवादमा समेत तानिए ।

सो खेल दौरान मेस्सीमाथि जाइलाग्ने मेडेलले धारणा राखेका छन् । चिलियन कप्तान उनले सो खेलमा मेस्सीको धारणाप्रति आफू सहमत भएको बताएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले आफूहरूलाई रातो कार्ड दिइनु गलत निर्णय भएको बताए ।

‘म मेस्सीसँग सहमत छु । मलाई लाग्छ कि, त्यो खेलमा हामीले पहेंलो कार्ड पनि पाउनुपर्ने थिएन,’ मेडेलले भने ।

उनले अघि थपे, ‘त्यो खेलमा रेफ्रीका कमजोरी थिए । उनले खेल र खेलाडीलाई राम्रोसँग नियन्त्रण गर्न सकेनन् । यस्ता गलत निर्णयले ठूलो फरक पार्छ ।’

सो खेलमा आफूहरूलाई रातो कार्ड दिएर रेफ्रीले अन्याय गरेको मेडेलले बताए । ‘खेल दौरान यस्ता ट्याकल वा घटना हुनु सामान्य हो । तर, मलाई अहिले पनि लाग्छ– हामीमाथि अन्य भएको थियो ।’

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०२:४४
Loading...