‘यसपटक मेस्सीले नजिते बालोन डि‘ओरको औचित्य सकिन्छ’

एजेन्सी, असार २६
सन् २०१९ का लागि दिइने विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर कसले जित्ला भन्ने अड्कलबाजी चलिरहेको छ । यसपटक मुख्य रूपमा डच डिफेन्डर भर्जिल भान डाइक, अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी, पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, पोर्चुगिज मिडफिल्डर बर्नान्डो सिल्भा, ब्राजिलियन गोलरक्षक एलिसन बेकरलगायत खेलाडी मुख्य दौडमा छन् ।

त्यसमा पनि स्पेनिस बार्सिलोनाबाट खेल्ने मेस्सी र इंग्लिस क्लब लिभरपुलबाट खेल्ने भान डाइक मुख्य दौडमा छन् । हालै मेस्सी अर्जेन्टिनी टोलीबाट कोपा अमेरिका फुटबलमा असफल भएपछि अब भान डाइकलाई सबैभन्दा बलियो दाबेदार मानिएको छ ।

तर, बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले भने यसपटक बालोन डि‘ओर मेस्सीले नजिते सो अवार्डको औचित्य नै नरहने बताएका छन् । हालै उनले एक अन्तर्वार्तामा बोल्दै मेस्सीले च्याम्पियन्स लिग र कोपा अमेरिका नजिते पनि बालोन डि‘ओरका लागि उनीजत्तिको योग्य खेलाडी अन्य कोही पनि नभएको बताएका छन् ।

‘मेरो विचारमा यसपटक मेस्सीले बालोन डि‘ओर जित्नुपर्छ, जसले अवार्डका लागि आवश्यक सबथोक गरेका छन्,’ रिभाल्डोले भने, ‘उनले च्याम्पियन्स लिग र कोपा अमेरिका जित्न सकेनन् । तर, यो व्यक्तिगत अवार्ड हो ।’

रिभाल्डोले यदि मेस्सीले यसपटक पनि अवार्ड नजिते बालोन डि‘ओरको औचित्य नै सकिने पनि बताए । ‘यदि उनले यसपटक पनि जित्न सकेनन् भने बालोन डि‘ओरको महत्त्व पनि सकिन्छ,’ रिभाल्डोले भने ।

सिजन २०१८÷१९ मा मेस्सीले बार्सिलोनाका कूल ५१ गोल गर्दै १९ गोलका लागि असिस्ट गरेका थिए । हालै सकिएको कोपामा भने उनले मात्रै १ गोल गरे । वर्ष २०१९ को हालसम्मको अवधिमा उनले क्लब बार्सिलोनाका लागि ३० र अर्जेन्टिनाका लागि ३ गरी ३३ गोल गरिसकेका छन् ।

प्रकाशित मिति २६ असार २०७६, बिहीबार ०२:५७
Loading...