‘मेस्सीसँग भ्रष्टाचारको प्रमाण छैन भने माफी माग्नुपर्छ’

एजेन्सी, असार २५
‘दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) भ्रष्ट संस्था भएको’ भनेर आरोप लगाएका लिओनल मेस्सीसँग सो आरोपको प्रमाण छैन भने उनले आत्मआलोचना गर्दै माफी माग्नुपर्ने अर्जेन्टिनी फुटबल संघका एक अधिकारीले बताएका छन् । उनले आफ्नो देशका कप्तानसमेत रहेका मेस्सीले आफूले बोलेको विषयमा आफैं जिम्मेवार हुनुपर्ने बताए ।

यसै साता कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली तेस्रो स्थानका लागि खेल्नेक्रममा रातो कार्ड पाएका मेस्सीले खेल पछि मिडियासँग बोल्दै ‘महासंघ भ्रष्ट संस्था भएको र आफूहरू भ्रष्टचारको अंग नबन्ने’ भन्दै टिप्पणी गरेका थिए । मेस्सीले कोपा ब्राजिललाई जिताउन आयोजकले मिलेमतो गरेको आरोप लगाउँदै मेडल लिनसमेत अस्वीकार गरेका थिए ।

अहिले महासंघले मेस्सीको सो आरोपको खण्डन गर्दै उनीमाथि छानबिन गर्ने तयारी गरेको छ । छानबिनमा मेस्सी दोषी भए उनीमाथि प्रतिबन्ध लाग्नेछ । आर्थिक जरिमानासमेत हुनेछ ।

यसैक्रममा अर्जेन्टिनी फुटबल संघको उपाध्यक्ष गुइल्लेर्मो रायडले मेस्सीसँग आफूले बोलेको विषयमा ठोस सबुत छैन भने आत्मआलोचना गरेर माफी माग्नुपर्ने बताएका छन् । उनले मेस्सीले कुन अवस्थामा सो आरोप लगाए भन्ने आफूले बुझेको भए पनि एक प्रतिष्ठित संस्थाप्रतिको गम्भीर आरोपले ठूलो अर्थ राख्ने बताए ।

रियाडले मेस्सीको भनाइ राजनीतिक रूपमा सही नभए पनि उनले आफ्नो तर्फबाट प्रष्ट पारेता पनि त्यसमा आधार नदेखिने बताए । ‘मेस्सीले कुन अवस्था र सन्दर्भमा त्यस्तो बोले त्यो म राम्रोसँग बुझ्दछु,’ रियाडले भने ।

उनले अघि थपे, ‘मेस्सीको टिप्पणी राजनीतिक रूपमा सही थिएन । यदि उनीसँग ठोस प्रमाण छैन भने उनले आत्मआलोचना गर्नुपर्छ । मलाई थाहा छ, उनले कुन अवस्थामा बोलेका थिए । तर, एक गरिमामय संस्थामाथिको आरोप सामान्य हुँदैन ।’

अर्जेन्टिनी फुटबल संघ आफ्ना खेलाडीका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै रियाडले ब्राजिलमा आफ्नो टिमको खेलक्रममा आयोजकका तर्फबाट भएका गलत कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार १२:५७
Loading...