नेइमार भित्र्याउने दौडमा रियलको ‘रि–इन्ट्री’ !

एजेन्सी, असार २५
स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वखेलाडी ब्राजिलियन नेइमार फर्काउन प्रयास गरिरहँदा बार्सिलोनाको खास प्रतिस्पर्धी क्लब रियल मड्रिड पुनः नेइमार अनुबन्धको दौडमा मिसिएको छ । यसै समरमा नेइमार फ्रेन्च क्लब पिएसजी छाड्ने तयारीमा छन् ।

अझै पनि नेइमार बार्सिलोना फर्किने दिशामा देखिन्छन् । तर, पिएसजी भने आफ्ना कीर्तिमानी खेलाडीलाई बार्सिलोना सजिलै पठाउने पक्षमा छैन । यदि पठाए पनि उसले बार्सिलोनाबाट निकै महँगो मूल्य लिने तयारी गरेको छ । बार्सिलोनाले नेइमार फर्काउँदाको यही अप्ठेरो अवस्थालाई ध्यान दिँदै रियल नेइमारलाई उछिट्याउन लागिपरेको रियल मड्रिड निकट मानिने ‘मार्सा’ ले जनाएको छ ।

अघिल्लो दिन मात्रै पिएसजीले उचित मूल्यमा नेइमार बेच्न आफूहरू तयार रहेको बताएर नेइमारका लागि ढोका खुला गरे पनि बार्सिलोनाका लागि आफैंले बेचेका खेलाडी भित्र्याउन सहज छैन । बार्सिलोना नेइमारका लागि आफूले बेचेभन्दा कम २०० मिलियनभन्दा बढी हाल्ने पक्षमा छैन । यता, पिएसजी भने बार्सिलोनालाई ३०० मिलियनभन्दा कममा नेइमार बेच्ने संकेत छैन ।

तर, पिएसजी रियललाई भने कम मूल्यमै नेइमार बेच्न तयार देखिन्छ । उसले यदि रियलले नेइमार लैजान चाहे ऊबाट एक खेलाडी लिएर थप रकम माग गर्ने सम्भावना छ । पिएसजीले रियलबाट ब्राजिलियन खेलाडी कासेमिरोलाई नेइमारको डिलमा मिसाउन चाहेको छ ।

नेइमार फर्काउने विषयमा खास गरी रियलका अध्यक्ष फ्लारेन्टिनो पेरेज विशेष लागिपरेका छन् । विगतबाटै नेइमारप्रति विशेष चासो देखाउँदै आएका उनका लागि ब्राजिलियन स्टार भित्र्याउन यो नै अन्तिम अवसर हुनेछ ।

स्पेनिस मिडियाका अनुसार रियलले नेइमार भित्र्याउन २५० मिलियन युरोसम्म खर्चिन यतार देखिन्छ । त्यसमा उसले एक खेलाडी पिएसजीलाई दिने सम्भावना छ । तर, पिएसजीले माग गरेजस्तो कासेमिरोलाई दिने सम्भावना भने न्यून देखिन्छ । किनभने, कासेमिरो रियलका प्रशिक्षक जिनेदिन जिदानको योजनाका एक प्रमुख खेलाडी हुन् ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार १०:५४
Loading...