अर्जेन्टिना र ब्राजिलको खेल खेलाउने रेफ्रीको यस्तो बयान

एजेन्सी, असार २५
हालै ब्राजिलमा सकिएको कोपा अमेरिका फुटबल खेलाउने एक रेफ्रीले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । अघिल्लो बुधबार सेमिफाइनलमा भएको खेलमा घरेलु टोेली ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो । तर, सो खेल दौरान रेफ्री रोड्डी जाम्ब्रानोले ब्राजिललाई जिताउन पक्षपातपूर्ण निर्णय गरेको आरोप लागेको थियो ।

खेलपछि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी र कप्तान लिओनल मेस्सीले सो खेल खेलाउने रेफ्रीले ब्राजिललाई जिताउन भूमिका खेलेको र आफूहरूले पाउनुपर्ने दुई पेनाल्टी पनि नदिएको भन्दै आलोचना गरेका थिए । खेलपछि रेफ्रीले केही विवादास्पद निर्णय गरेको भन्दै चर्को आलोचना भएको थियो ।

तर, इक्वेडरका रेफ्री जाम्ब्रानोले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आफूले तटस्थ रूपमा खेल लाएको बताए । त्यत्ति मात्रै हैन, उनले ‘खेल खेलाउँदा आफू अत्तालिएको’ भन्ने कुरा गलत रहेको पनि बताए । उनले हार्दा सबैलाई चोट पर्ने भन्दै पराजित टिम र खेलाडीले आरोप लगाउनु सामान्य भएको बताए ।

‘अर्जेन्टिनी खेलाडीले भनेजस्तो ओटामेन्डीमाथि अर्थुरले गरेको फउल एकपक्षीय थिएन । भिएआर टिमबाट ५०–५० ट्याकल भएको पुष्टि भएरै पेनाल्टी नदिइएको हो,’ जाम्ब्रानोले भने, ‘त्यो फउल पेनाल्टी दिन उचित थिएन ।’

त्यसैगरी, जाम्ब्रानोले सर्जियो अगुएरोमाथि भएको फउल सही नभएको बताए । ‘सर्जियो गुएरोमाथि भएको फउल फरक अवस्था हो । त्यो फउल अगुएरोमाथि नभएर ब्राजिलका डिफेन्डरमाथि भएको थियो,’ जाम्ब्रानोले भने ।

खेलपछि रेफ्री जाम्ब्रानोले भिएआर टिमसँग एकपटक पनि छलफल नगरी र भिएआर प्रयोग नगरी खेल सकाएको भन्दै आलोचना भएको थिए । अर्जेन्टिनी कप्तान मेस्सीले ‘गम्भीर फउलमा पनि रेफ्रीले भिएरआको प्रयोग नगर्नु आपत्तिजनक रहेको’ भन्दै रेफ्रीसँग रिसाएका थिए ।

तर, रेफ्री भने त्यो स्वीकार्न तयार छैनन् । ‘यो सरासर गलत हो । मैलै कुनै पनि बेला भिएरआसँग सम्पर्क विच्छेद गरेको थिइनँ,’ उनले प्रष्ट पारेका छन् ।

सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएपछि तेस्रो स्थानका लागि भएको खेलमा चिलीलाई २–१ ले हराएको थियो । सो खेलमा मेस्सीले रातो कार्ड खाएका थिए ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार ०५:४३
Loading...