यी हुन् सर्वाधिक धेरै उपाधि जित्ने पाँच खेलाडी

एजेन्सी, साउन २
हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल ब्राजिलले जितेपछि टिमका डिफेन्डर ड्यानी आल्भेस सर्वाधिक धेरै अवार्ड जित्ने खेलाडी बने । उनी फुटबलको इतिहासमै धेरै उपाधि जित्ने खेलाडी हुन् । उनले देश र क्लबबाट गरी कूल ४३ प्रमुख उपाधि जितेका छन् ।

फुटबलको इतिहासमा सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी को–को होलान् ? यहाँ यसबारे चर्चा गरिएको छ ।

ड्यानी आल्भेस – ४३ उपाधि

हाल ३६ वर्ष पुगेका ब्राजिलका भेट्रान डिफेन्डर आल्भेसले हालसम्म सबैखाले प्रतियोगिताबाट कूल ४३ उपाधि जितेका छन् । उनले आफ्नो उमेरभन्दा पनि बढी अवार्ड जितेका छन् । विगतमा ८ वर्ष स्पेनिस बार्सिलोनामा बिताएका उनले सो अवधिमा बार्साबाट कूल २३ उपाधि जितेका थिए ।

म्याक्सवेल – ३७ उपाधि

हाल ३७ वर्ष पुगेका ब्राजिलियन खेलाडी म्याक्सवेलले आफ्नो करिअर दौरान कूल ३७ उपाधि जितेका छन् । उनी सर्वाधिक धेरै उपाधि जित्ने दोस्रो फुटबलर हुन् । उनले डच क्लब आयाक्स, इटालियन इन्टर मिलान, स्पेनिस बार्सिलोना, फ्रेन्च क्लब लियोनलगायत क्लबबाट कूल ३७ उपाधि जितेका छन् ।

आन्द्रेस इनिएस्टा – ३५ उपाधि

स्पेनिस बार्सिलोनाका पूर्वकप्तान तथा स्पेनिस खेलाडी आन्द्रेस इनिएस्टा सर्वाधिक धेरै उपाधि जित्ने तेस्रो खेलाडी हुन् । उनले आफ्नो करिअर दौरान कूल ३५ उपाधि जितेका छन् । त्यसमा विश्वकप र युरोकपसमेत सामेल छन् । बार्सिलोनाबाट चारपटक युरोपियन च्याम्पियन्स लिग, स्पेनबाट पटक विश्वकप र दुईपटक युरो कप जितेका इनिएस्टा हाल जापानी क्लबबाट खेलिरहेका छन् ।

रायन गिग्स – ३४ उपाधि

हाल वेल्सको राष्ट्रिय टिमका प्रशिक्षक रहेका गिग्स फुटबलमा सर्वाधिक धेरै उपाधि जित्ने चौथो खेलाडी हुन् । सिनियर करिअरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट मात्रै खेलेका उनले सन् १९०० देखि २०१४ सम्म गरी आफ्नो करिअर दौरान कूल ३४ उपाधि जितेका छन् । २४ युनाइटेडमा बिताएका उनले कूल ३४ उपाधि जितेका थिए । उनले युनाइटेडबाट कूल ६७२ खेल खेल्दै ११४ गोल गरेका थिए ।

लिओनल मेस्सी – ३४ उपाधि

स्पेनिस बार्सिलोनाबाट १५ वर्षदेखि खेलिरहेका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले आफ्नो करिअरमा कूल ३४ उपाधि जितेका छन् । मेस्सीलाई क्लब फुटबलमा जति सफल खेलाडी मानिन्छ, अर्जेन्टिनी टोलीमा भने उनको रेकर्ड उति नै खराब छ ।

सन् २०१४ देखि सन् २०१६ को बीचमा लगातार दुईपटक कोपा अमेरिकामा अर्जेन्टिनी टोलीबाट फाइनल पुगेर चुकेका मेस्सीले देशको सिनियर टोलीबाट कुनै उपाधि जित्न सकेका छैनन् । उनले जितेको अवार्ड उमेर समूहबाट मात्रै हो ।

तर, बार्सिलोनाको जर्सीमा मेस्सी सर्वाधिक सफल खेलाडी हुन् । उनी बार्सिलोनाको इतिहासमै सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी हुन् । सन् २००४ बाट बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले १० ला लिगा र चार च्याम्पियन्स लिग गरी कूल ३४ उपाधि जितेका छन् ।

प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०८:५६
Loading...