रोड्रिग्वेज किन परेनन् रियल मड्रिडको टोलीमा ?

एजेन्सी, असार २४
स्पेनिस रियल मड्रिडको प्रि–सिजन टुरको प्रशिक्षण टोलीमा कोलम्बियन खेलाडी हामेस रोड्रिग्वेज पर्न सकेनन् । रियलको २९ सदस्यीय टोली आज स्पेनबाट क्यानडा उडेको छ । रियलको टोली नयाँ सिजनअघिका मैत्रीपूर्ण खेलको तयारीका लागि क्यानडा लागेको हो । त्यहाँ उसले करिब १० दिनसम्म रहेर प्रशिक्षण तथा तयारी गर्नेछ ।

सो टोलीमा टोलीका अधिकांश सिनियर खेलाडी परे पनि हालै लोन अवधि पूरा गरेर जर्मन क्लब बार्यन म्युनिखबाट रियल फर्किएका रोड्रिग्वेजलाई पनि कोच जिनेदिन जिदानले टोलीका राखेनन् । कोलम्बियन खेलाडीलाई इटालियन क्लब नापोलीले अनुबन्ध गर्ने चर्चा छ ।

सरुवा हुनसक्ने खेलाडीको सूचीमा रहेकाले जिदानले रोड्रिग्वेजलाई टोलीमा नराखेका हुन् । त्यसै पनि, रोड्रिग्वेज जिदानको रोजाइमा पर्ने खेलाडी होइनन् । दुई वर्षअघि उनी जिदानकै कारण रियल छाडेर लोनमा बार्यन पुगेका थिए ।

२७ वर्षीय कोलम्बियन खेलाडी हालै अन्तर्राष्ट्रिय ड्युटीबाट स्पेन फर्किए पनि उनी क्लबको टोलीमा नपरेपछि उनले स्थायी रूपमै रियल छाड्न सक्ने चर्चा बढेको छ । रोड्रिग्वेज सन् २०१४ मा रियलमा अनुबन्ध भएका थिए ।

रोड्रिग्वेज भित्र्याउन नापोली प्रयासरत रहे पनि रियलले भने उनलाई एथ्लेटिको मड्रिड पठाउन चाहेको छ । तर, रोड्रिग्वेजलाई विशेष माया गर्ने रियलका पूर्वप्रशिक्षक एन्सोलोटी हाल नापोलीका प्रशिक्षक रहेकाले उनले आफ्ना पूर्वखेलाडीलाई टोलीमा अनुबन्ध गर्न प्रयास गरिरहेका छन् ।

क्यानडा लागेको रियलको टोलीमा हालै अनुबन्ध भएका इडेन हाजार्ड, लुका जोभिक, फोर्लान् मेन्डीलगायत खेलाडी पनि परेका छन् ।

यस्तो छ रियलको प्रि–सिजन टुर खेल तालिका :

जुलाई २१ – बार्यन म्युनिखविरुद्ध– इन्टरनेसनल च्याम्पियन कप

जुलाई २४ – आर्सनलविरुद्ध – इन्टरनेसनल च्याम्पियन्स कप

जुलाई २७ – एथ्लेटिको मड्रिडविरुद्ध – इन्टरनेसनल च्याम्पियन्स कप

जुलाई ३० – टोटनह्यामविरुद्ध – आउदी कप सेमिफाइनल

जुलाई ३१ – आउदी कपअन्तर्गत फाइनल अथवा तेस्रो स्थानका लागि –फेनरबेक वा बार्यन म्युनिखविरुद्ध

प्रि सिजन खेल सकिएपछि रियल मड्रिडले नयाँ सिजनको पहिलो खेल अगस्ट १८ तारिखमा सेल्टा भिगोसँग खेल्ने तालिका छ । उसले सिजनको सुरुआत घरेलु लिग ला लिगाबाट थालनी गर्नेछ ।

प्रकाशित मिति २४ असार २०७६, मंगलवार १४:३७
Loading...