मेस्सीको शान्त यात्रा : ६७० खेलपछि दोस्रो रातो कार्ड !

काठमाडौं, असार २४
अर्जेन्टिनाका सुपरस्टार तथा टोलीका कप्तान लिओनल मेस्सीले ब्राजिलमा हालै सम्पन्न कोपा अमेरिका फुटबलमा तीन दिनअघि चिलीविरुद्धको खेलमा रातो कार्ड पाए । तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेल दौरान मेस्सी खेलको ३७औं मिनेटमा रातो कार्डको सिकार बने । मेस्सीले पाएको सो रातो कार्ड उनको करिअरको दोस्रो रातो कार्ड थियो ।

सो खेल दौरान मेस्सी र चिलियन खेलाडी ग्यारी मेडेलबीच झडप भएको थियो । दुई खेलाडी झडपमा उत्रिएपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । दुवै टिम १० खेलाडीमा सीमित भएको खेलमा अर्जेन्टिनाले २–१ ले चिलीलाई हराउँदै तेस्रो स्थान जित्यो ।

अक्सर मैदानमा निकै शालीन र शान्त स्वभावका खेलाडीको परिचय बनाएका मेस्सीले करिअरमा हालसम्म जम्मा मात्रै दुईपटक रातो कार्ड पाएका छन् । यो निकै राम्रो रेकर्ड हो । मेस्सीले करिअरमा पाएका दुईटै रातो कार्ड अर्जेन्टिनाबाटै पाएका छन् ।

मेस्सीले पहिलो रातो कार्ड सन् २००५ को अगस्ट १८ मा हंगेरीविरुद्धको खेलमा पाएका थिए, जुन मेस्सीका लागि राष्ट्रिय टोलीमा डेब्यु खेल थियो । हंगेरीविरुद्धको खेलमा मेस्सीले मैदान पसेको मात्रै ४० सेकेन्डमै विपक्षी खेलाडीमाथि फउल गरेको आरोपमा सोझै रातो कार्ड पाएका थिए ।

त्यसपछि मेस्सीले तीन दिनअघि कोपामा चिलीविरुद्ध करिअरको दोस्रो रातो कार्ड पाए । उनले पहिलो रातो कार्ड पाएपछि कूल ६७० खेलपछि दोस्रो रातो कार्ड पाएका हुन् ।

मेस्सीले हालसम्म क्लब बार्सिलाना र अर्जेन्टिनाबाट गरी कूल ८५५ खेल खेलेका छन् । त्यसक्रममा उनले क्लब तथा देशबाट ६८२ गोल गरेका छन् । जसमा मेस्सीले बार्सिलोनाबाट ७१९ खेल खेल्दै ६१४ गोल गरेका छन् । यता, अर्जेन्टिनाबाट उनले कूल १३६ खेल खेल्दै ६८ गोल गरेका छन् ।

प्रकाशित मिति २४ असार २०७६, मंगलवार १५:३७
Loading...