नेइमारबारे बार्सिलोनाका लिजेन्ड यसो भन्छन्

एजेन्सी, असार २४
स्पेनिस बार्सिलोनाका पूर्वकप्तान तथा लिजेन्ड खेलाडी कार्लेस पुयोलले बार्सिलोनाले पुराना दिन बिर्सेर ब्राजिलियन नेइमार अनुबन्ध गर्नुपर्ने बताएका छन् । हालै स्पेनिस मिडियासँग बोल्दै उनले नेइमारजस्ता खेलाडी अनुबन्ध गर्न दुई वर्ष पहिले के–के भएको थियो भन्ने कुरा बिर्सनुपर्ने बताएका हुन् ।

पुयोलले नेइमारले पिएसजी छाड्न पक्कापक्कीजस्तै देखिएको र उनी सरुवा बजारमा उपलब्ध भएकाले बार्सिलोनाले भविष्यका लागि नेइमार फर्काउनेबारे गम्भीतारपूर्वक सोचनुपर्ने बताएका हुन् । बार्सिलोनालाई अझै पनि नेइमारको आवश्यकता रहेकोमा उनले जोड दिए ।

‘नेइमार पिएसजी छाड्दैछन् । यदि त्यहाँ उनका लागि कुनै अफर छ भने त्यो सबैका लागि राम्रो हुनेछ,’ पुयोलले भने, ‘तर, नेइमारको मूल्य निकै महँगो छ । उनको महँगो मूल्य हाल्न सबै क्लब तयार नहुन सक्छन् । किनभने, उनको मूल्य असाधारण छ ।’

पुयोलले बार्सिलोनाले अझै पनि नेइमार भित्र्याउनुपर्ने बताए । ‘मेरो विचारमा नेइमार एक ठूला खेलाडी हुन् । उनीसँग प्रशस्तै क्षमता छ । बार्सिलोनालाई गत सिजन देखिएको असफलता पन्छाउन नेइमारजस्ता खेलाडी चाहिन्छ,’ पुयोलले भने, ‘नेइमार भित्र्याए बार्सिलोनाले च्याम्पियन्स लिगको शान फर्काउन सक्छ ।’

पुयोलले बार्सिलोनाले नेइमार फर्काउने कुरामा विगतका तिता–मिठा बिर्सनुपर्ने बताए । ‘यदि नेइमार क्याम्प नोउ फर्किन चाहन्छन् र बार्सिलोना पनि इच्छुक छ भने दुई वर्षअघि के–के भए भन्ने कुरा खेलाडी र क्लब दुवैले बिर्सनुपर्छ,’ किनभने, ‘दुवै पक्षले भविष्यका लागि सोच्नुपर्छ ।’

नेइमारलाई बार्सिलोनाले सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजीलाई बेचेको थियो । तर, पिएसजीमा सोचेअनुरूप सफलता पाउन नसकेपछि नेइमारले नयाँ सिजनअघि नै क्लब छाड्ने तयारी गरेका छन् । नेइमार बार्सिलोना फर्किन इच्छुक देखि पनि पिएसजी उनलाई सस्तो मूल्यमा बेच्ने पक्षमा छैन ।

पिएसजीले नेइमारका लागि कम्तीमा ३०० मिलियन युरो माग गरेको छ । तर, बार्सिलोना नेइमारका लागि २०० मिलियनभन्दा बढी तिर्न तयार छैन । यसै साता मात्रै बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेइमार फिर्तबारे बोल्दै ‘नेइमारले पिएसजी छाड्न चाहेको तर क्लब उनलाई बेच्न तयार नरहेकाले उनी बार्सिलोना फर्किने विषय सकिएको’ प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति २४ असार २०७६, मंगलवार ०३:३९
Loading...