‘मेस्सीका नाममा’ दक्षिण अमेरिकी फुटबल महासंघले निकाल्यो यस्तो विज्ञप्ति

एजेन्सी, असार २३
‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट अखडा भएको’ भनेर अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले लगााएको आरोपको सो संस्थाले खण्डन गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै मेस्सीको आरोप निराधार र आपत्तिजनक रहेको पनि जनाएको छ ।

महासंघले फुटबल मैदानमा खेल्न उत्रिएपछि हार–जित सामान्य नियम रहेको बताएको छ । उसले कोपामा सहभागी १२ वटै देशमाथि आफूहरूले सबैलाई समान ढंगले व्यवहार गरेको भन्दै हारपछि मेस्सीले भनेजस्तो कुनै समस्या नरहेको प्रष्ट पारेको छ । महासंघले मेस्सीको व्यवहारको खण्डनसमेत गरको छ ।

‘केही खेलाडीका पछिल्ला आरोपले प्रतियोगिता, सहभागी सबै खेलाडी र महासंघका सयौं अधिकारीको ठूलो अपमान भएको छ । महासंघ सन् २०१६ देखि दक्षिण अमेरिकी फुटबललाई पारदर्शी र व्यावसायिक बनाउन खटेर काम गरिरहेको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा अघिल्लो दिन अर्जेन्टिना तेस्रो स्थानका लागि चिलीसँग खेल्यो । खेल अर्जेन्टिनाले २–१ ले जित्यो पनि । तर, खेलको ३७औं मिनेटमा कप्तान मेस्सी रातो कार्ड खाँदै बाहिरिए । चिलीका खेलाडी ग्यारी मेडेलसँग झडप परेपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । मेस्सीले विजेताको मेडलसमेत लिन अस्वीकार गरेका थिए ।

सो खेलपछि मिडियासँग प्रस्तुत भएका मेस्सी महासंघ र रेफ्रीमाथि खनिएका थिए । उनले आफूले रातो कार्ड पाउनु गलत रहेको बताउँदै महासंघमा भ्रष्टचार रहेको आरोप लगाउँदै आफू भ्रष्टचारको साक्षी नहुने बताएका थिए । ‘हामीले भ्रष्टाचार भएको स्थानमा सहभागिता जनाउनु हुँदैन । किनभने, हामी यो प्रतियोगितामा पीडित बनेका छौं,’ मेस्सीले खेलपछि भनेका थिए, ‘हामी दुवैलाई पहेंलो कार्ड दिए दिनु ठीक हुन्थ्यो । यस्ता कमजोरीले प्रतियोगितामा गडबढी देखिन्छ ।’

त्यसअघि सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएपछि मेस्सीले खेलमा रेफ्रीले ब्राजिललाई जिताउने गरी भूमिका खेलेको आरोप लगाउँदै उपाधि ब्राजिललाई जिताउन पहिला नै सेटिङ भएको आरोप लगाएका थिए ।

पछिल्ला अन्तर्राष्ट्रिय रिपोर्टअनुसार मेस्सीले महासंघको छवीमा आँच पुग्ने गरी आरोप लगाएको मुद्दामा संस्थाले छानबिन गर्ने तयारी गरेको छ । सो विषयमा महासंघले ३ दिनभित्र निर्णय लिने बताइएको छ । यदि सो मुद्दामा मेस्सी दोषी ठहर भए उनीमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई वर्षसम्म प्रतिबन्ध लाग्ने प्रावधान छ ।

प्रकाशित मिति २३ असार २०७६, सोमबार ११:५८
Loading...