पेरूलाई हराउँदै ब्राजिल १२ वर्षपछि कोपा अमेरिकाको च्याम्पियन !

काठमाडौं, असार २३
घरेलु टोली ब्राजिल आफ्नो भूमिमा आयोजित कोपा अमेरिका फुटबलको च्याम्पियन बनेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको फाइनल खेलमा ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै उपाधि जितेको हो । यससँगै ब्राजिलले १२ वर्षपछि कोपा जितेको छ । उसले यसअघि सन् २००७ मा यो प्रतियोगिता जितेको थियो ।

निकै प्रतिस्पर्धात्मक देखिएको पहिलो हाफमा ब्राजिलका लागि खेलको १५औं मिनेटमा एभर्टन सोवारेजले निकै दर्शनीय गोल गरेका थिए । बक्सको तल्लो क्षेत्रबाट ग्याब्रिएल जेससले दिएको पासमा अनमार्क रहेका एभर्टनले वान टचमै बललाई जाली चुमाएका थिए ।

त्यसपछि ४४औं मिनेटमा पेरूले पेनाल्टी पायो । बक्स क्षेत्रमा थियागो सिल्भाले लड्नेक्रममा ह्यान्ड बल गरेपछि पाएको पेनाल्टीमा पेरूका लागि पाओलो गुरेरियाले कुनै गल्ती नगरी गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लगत्तै ब्राजिलले गोल हान्यो । इन्जुरी समयको तेस्रो मिनेटमा अर्थुरको पासमा जेससले बक्स भित्रबाट सहजै गोल गरेपछि पहिलो हाफमा ब्राजिलले खेलमा २–१ को लिड लिन सफल भयो ।

दोस्रो हाफमा ब्राजिल खेलको ७०औं मिनेटमा १० खेलाडीमा सीमित हुन पुग्यो । गोलकर्ता खेलाडी जेसस दोहोरो पहेंलो कार्ड खाएर रुँदै मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो ।

तर, त्यसपछि पनि ब्राजिलले गोल थप्न सफल भयो । उसका लागि खेलको ९०औं मिनेटमा पेनाल्टीबाट सब्सिच्युट खेलाडी रिचार्लिसनले गोल गरे । बक्समा ब्राजिलका खेलाडी एभर्टनमाथि फउल गरेर लडाएपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिएका थिए । त्यसमा पनि भिएआरको प्रयोग गरिएको थियो । जसमा रिचार्लिसनले कुनै गल्ती नगरी गोल गरेपछि ब्राजिलले खेल ३–१ ले जित्न सफल भयो ।

यससँगै ब्राजिलले नवौंपटक कोपाको उपाधि जित्न सफल भएको छ । उसले यसअघि आठपटक यो उपाधि जितेको थियो । ऊ सर्वाधिक धेरे कोपा जित्ने तेस्रो टिम हो । १५ उपाधिसहित उरूग्वे शीर्ष स्थानमा छ भने अर्जेन्टिना १४ उपाधिसहित दोस्रोमा छ ।

प्रकाशित मिति २२ असार २०७६, आईतवार २१:५७
Loading...