अमेरिका चौथोपटक विश्व च्याम्पियन : नेदरल्यान्ड्स इतिहास रच्नबाट चुक्यो !

काठमाडौं, असार २२
आठौं संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । शनिबार राति फ्रान्समा भएको उपाधि भिडन्तमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै उपाधि पोल्टामा पारेको हो । यससँगै अमेरिका विश्वकपको उपाधि सर्वाधिक धेरै चारपटक जित्ने टिम बनेको छ भने पहिलोपटक फाइनल पुगेको डच टिम भने उपाधि जितेर इतिहास रच्नबाट चुकेको छ ।

आज डच टिमलाई तीनपटकको विश्व च्याम्पियनलाई हराउँदै उपाधि जित्ने अवसर थियो । तर, अमेरिकाको दबाबपूर्ण खेलमा डच टिम गोलविहीन बन्दा उसले उपाधि अमेरिकालाई सुम्पियो ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । सुरुबाटै लगातार आक्रामक खेल खेलेको अमेरिकाले पहिलो हाफमा आधा दर्जनजति गोलका मुभ बनाए डच किपरले उसका सबै प्रयास असफल पारिदिँदा पहिलो हाफ ०–० मा सकियो ।

तर, दोस्रो हाफमा डच टिमको रक्षापंक्ति अमेरिकाले तोड्यो । खेलको ६१औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो । बक्स क्षेत्रमा डच डिफेन्डरले अमेरिकन खेलाडीलाई किक हानेर लडाएपछि रेफ्रीले भिएआरको प्रयोग गरेर अमेरिकालाई पेनाल्टी मौका दिएकी थिइन् । जसमा मेगान रापिनोईले आकर्षक गोल गर्दै अमेरिकालाई १–० को लिड दिइन् ।

त्यसपछि अमेरिकाले छिट्टै दोस्रो गोल थप्यो । ६९औं मिनेटमा रोजे लाभेल्लेले बक्स बाहिरबाट डच डिफेन्डरलाई छलाउँदै लामो दूरीबाट हानेको कडा प्रहारले दर्शनीय रूपमा जाली चुमेपछि खेलमा अमेरिकाले २–० को अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अमेरिकाले २–० ले जित्यो ।

अब अमेरिका विश्वकप सर्वाधिक धेरै चारपटक जित्ने टिम बनेको छ । ऊ यसअघि सन् १९९१, सन् १९९९ र २०१५ मा गरी तीनपटक विश्व च्याम्पिन बनेको थियो । त्यसपछि जर्मनीले दुईपटक उपाधि जित्दा नर्वे र जापानले एक–एक पटक विश्वकप जितेका छन् ।

प्रकाशित मिति २२ असार २०७६, आईतवार १६:५६
Loading...