‘मेस्सीलाई रातो कार्ड दिइनु फुटबलकै लागि कलंक’

एजेन्सी, असार २२
सामान्य मुद्दामा आफ्ना कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीले रातो कार्ड पाएपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले चर्को असन्तुष्टि पोखेका छन् । ब्राजिलमा जारी कोपा अमेरिकाअन्तर्गत गत राति तेस्रो स्थानका लागि अर्जेन्टिना र चिलीबीचको भएको खेल दौरान मेस्सीले खेलको ३७औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

चिलीका कप्तान ग्यारी मेडेलसँग झगडा गरेको आरोपमा रेफ्रीले दुवै कप्तानलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । सो झडपमा पहिला चिलीका कप्तानले मेस्सीमाथि हात हालेपछि मेस्सीले पनि जवाफमा धक्का दिएका थिए । सोहीक्रममा दुवै खेलाडी थप आक्रामक बनेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

सो खेल अर्जेन्टिनाले २–१ ले जित्दै प्रतियोगिताको तेस्रो टिम बनेको थियो । अर्जेन्टिनाको जितमा सर्जियो अगुएरो र पाउलो डिबालाले गोल गरेका थिए । अर्जेन्टिनाले २ वटै गोल पहिलो हाफमा गरेको थियो भने चिलीले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरेको थियो ।

सो खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले मेस्सीको बचाउ गर्दै रेफ्रीको गलत निर्णयको आलोचना गरे । ‘हामीले खेल जित्यौं, नतिजाका हिसाबले हामी खुसी छौं । तर, मैदानमा जे–जे भए, त्यही असामान्य रहे,’ स्कालोनीले भने ।

उनले मेस्सीलाई सामान्य केसमा सोझै रातो कार्ड दिइनु रेफ्रीको अपरिपक्वता भएको बताए । ‘पहिला मेस्सी आक्रमणमा परेका थिए । तपाईं रिप्ले हेर्न सक्नुहुन्छ । त्यो अवस्थामा उनलाई रातो कार्ड दिइनु जरुरी थिएन, अन्यायपूर्ण ढंगले उनलाई रातो कार्डको सिकार बनाइयो,’ स्कालोनीले भने, ‘हामी रेफ्रीको सो निर्णयमा फरक मत राख्न चाहन्छौं ।’

सो खेलपछि सामाजिक सन्जालहरूमा पनि मेस्सीलाई रातो कार्ड दिइनुलाई रेफ्रीको गलत निर्णय भनेर चर्को आलोचना भइरहेको छ । मेस्सीमाथि पहिला आक्रमण भएको र जवाफमा मेस्सीले प्रतिकार गरेकोमा मेस्सीलाई कम्तीमा पहेंलो कार्ड मात्रै दिइनुपर्नेमा रातो कार्ड दिइनु रेफ्रीको केटाकेटीपना रहेको भन्दै समर्थकहरूले सो खेल खेलाउने रेफ्रीको आलोचना गरिरहेका छन् ।

यसअघि सेमिफाइनलमा अर्जेन्टिना ब्रालिजसँग २–० ले हर्दा कप्तान मेस्सीले रेफ्रीले ब्राजिलको पक्षमा सहयोग गरेर पक्षपात गरेको भन्दै आलोचना गरेका थिए । त्यसपछि अर्जेन्टिनी फुटबल संघले दक्षिण अमेरिकी फुटबल महासंघमा रेफ्रीविरुद्ध लिखित मुद्दा नै हालेको छ ।

प्रकाशित मिति २२ असार २०७६, आईतवार १५:४९
Loading...