रोनाल्डोसँग खेल्न पाउनु संसारकै सुन्दर उपहार : बुफोन

एजेन्सी, असार २२
एक सिजन फ्रेन्च क्लब पिएसजीमा बिताएर हालै पुरानो घर इटालियन युभेन्टस फर्किएका लिजेन्ड गोलकिपर जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग एकै जर्सीमा खेल्न पाउनु आफ्ना लागि संसारकै एक सुन्दर उपहार भएको बताएका छन् । यसै साता मात्रै युभेन्टसले बुफोनलाई आगामी एक सिजसम्मका लागि अनुबन्ध गरेको थियो ।

विगतमा १७ वर्षसम्म युभेन्टसमा बिताएका इटालियन ४१ वर्षीय गोलरक्षक बुफोन युभेन्टसका पूर्वकप्तानसमेत हुन् । आगामी सिजन पनि उनैले कप्तानी गर्ने सम्भावना छ । युभेन्टसमा अनुबन्ध भएपछि बुफोनले मिडियासँग बोल्दै आफू युभेन्टस फर्किन र रोनाल्डोसँग खेल्न पाउँदै निकै खुसी र उत्साहित भएको बताए ।

‘नढाँटी भन्दा यो मेरा इच्छा पूरा भएको दिन हो । म विगतबाटै रोनाल्डोसँग खेल्न चाहन्थें । मैले नेइमार र एम्बाप्पेसँग पनि खेलिसकें । अब रोनाल्डोसँग खेल्ने अवसर छ,’ उनले भने, ‘उनीसँग एकै जर्सीमा खेल्न पाउँदा मलाई संसारकै सबैभन्दा सुन्दर उपहार पाएजस्तो अनुभूत भइरहेको छ ।’

आफू आराम गर्न युभेन्टस नआएको भन्दै केही जित्ने लक्ष्यसहित आएको बुफोनले बताए । ‘यो लुकाउनुपर्ने कुरा होइन कि, म च्याम्पियन्स लिग जित्न चाहन्छु । आगामी सिजन युभेन्टसको जर्सीमा यो प्रतियोगिता जित्न म टिमलाई सबथोक दिन प्रयास गर्नेछु,’ बुफोनले भने ।

युभेन्टसले आफूले एक सिजन क्लबमा रहँदा दोस्रो रोजाइको गोलकिपर भएर खेल्ने पनि बताए । ‘म यहाँ पहिलो रोजाइमा हुनेछैन । म दोस्रो रोजाइबाट खेल्नेछु । म थोरै र महत्त्वपूर्ण खेल खेल्नेछु,’ उनले भने, ‘१ नम्बर जर्सी पहिलो रोजाइका गोलकिपरले नै लगाउनेछन् ।’

प्रकाशित मिति २२ असार २०७६, आईतवार १५:१४
Loading...