मेस्सी रिसले चुर, भने– ‘कोपा ब्राजिललाई जिताउन सबै सेटिङ छ’

एजेन्सी, असार २२
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि ब्राजिलमा जारी कोपा अमेरिका फुटबल निकै खराब र विवादित बन्यो । गत राति अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि भएको खेलमा मेस्सी खेलको ३७औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । भलै, सो खेल अर्जेन्टिनाले २–१ ले जित्यो ।

सामान्य मुद्दामा सोझै रातो कार्ड खाएर मैदान छाड्नु परेपछि मेस्सी निकै निराश भएका थिए । खेल दौरान चिलीका कप्तान ग्यारी मेडेलसँग उनको झडप भएको थियो । तर, पहिला मेस्सीमाथि मेडेलले आक्रमण गरेका थिए । त्यसपछि विवाद बढेको थियो । अन्ततः रेफ्रीले दुवै कप्तानलाई रातो कार्ड दखाए ।

खेलपछि मिडियासँग प्रस्तुत भएका मेस्सी निकै आक्रोशित देखिएका थिए । यतिसम्म कि, मेस्सीले आफूहरू दक्षिण अमेरिकी फुटबलको संस्थामा हुने भ्रष्टचार र गलत कुराको साक्षी बनेर नबस्ने मात्रै बताएनन्, ब्राजिललाई कोपा जिताउन सबै सेटिङ नै गरिएको आरोपसमेत लगाए ।

‘त्यहाँ कुनै शंकै छैन कि, ब्राजिलको पक्षमा यहाँ सबै कुरा सेटिङ गरिएको छ,’ पत्रकारसँग आक्रोशित मुद्रामा प्रस्तुत भएका मेस्सीले भने, ‘सेमिफाइनलबाटै यो देखिँदै आयो । आज थप पुष्टि भयो ।’

मेस्सीले आफू र आफ्नो टिम फुटबलमा हुने खराब कुरा र भ्रष्टचारको साक्षी भएर नबस्ने पनि बताए । ‘म भ्रष्टाचारको अंग बन्न चाहन्नँ । र, हामी कोही पनि हुनुहुँदैन,’ मेस्सीले भने, ‘तर, यहाँ यस्तै भइरहेको छ । यो एकदमै निन्दनीय छ ।’

‘म सधैं साँचो बोल्छु । म खेल जीवनमा ज्यादै इमान्दार छु । यसकारण म शान्त थिएँ । तर, अब पनि यसरी बस्नुहुँदैन । व्यापारका नाममा खेलमा भ्रष्टचारका रेखा देखिनु अपराध नै हो,’ मेस्सीले थपे ।

यसअघि सेमिफाइनल खेलमा ब्राजिलसँग २–० ले हार्दा पनि मेस्सी रेफ्रीसँग रिसाएका थिए । सो खेलमा आफूहरूले दुई पेनाल्टी पाउनुपर्ने भए पनि रेफ्रीले नियोजित रूपमा त्यस्तो नगरी ब्राजिललाई सघाउने गरी भूमिका खेलेको आरोप उनले लगाएका थिए । त्यसबेला उनले दक्षिण अमेरिकी फुटबल महासंघको आलोचनासमेत गरेका थिए ।

गत राति चिलीविरुद्ध रातो कार्ड देखाइनुमा कतिपयले महासंघको आलोचना गरेपछिको ‘जवाफ’का रूपमा बुझेका छन् । मेस्सीले रेफ्री र महासंघको आलोचना गरेकै कारण उनी थप निशानामा परेको चर्चा हुन थालेको छ ।

प्रकाशित मिति २२ असार २०७६, आईतवार ०५:११
Loading...