नेइमार फर्किने विषय अब सकियो : बार्सिलोना

एजेन्सी, असार २१
स्पेनिस बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पूर्वखेलाडी नेइमार फर्किने विषय अब आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । अघिल्लो दिन बार्सिलोनामा नयाँ खेलाडी फ्रेन्की डे जोङ अनुबन्ध गर्ने कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै अध्यक्षले यस्तो बताएका हुन् । सोक्रममा पत्रकारले बार्सिलोनाको सरुवा बजार र आगामी योजनाबारे प्रश्न गरेका थिए ।

२ वर्षअघि बार्सिलोनाले विश्वकीर्तिमानी २२२ मिलियन युरोमा ब्राजिलियन स्टार नेइमारलाई फ्रेन्च क्लब पिएसजीमा बेचेको थियो । दुई सिजन पिएसजीमा बिताएका नेइमारले सोचेअनुरूप सफलता पाउन नसकेपछि अहिले निराश भएर क्लब छाड्न चाहेका छन् । र, बार्सिलोना फिर्ती उनको प्राथमिकतामा परेको बताइन्छ । बार्सिलोनाका कप्तान लिओनल मेस्सीलगायत खेलाडी उनलाई स्पेन फर्काउन लागेको चर्चा छ ।

तर, बार्सिलोनाका अध्यक्ष बार्टोमेउ स्वयंले भने अब सो विषय करिब–करिब सकिएको बताए । उनले नेइमार पिएसजी छाड्न चाहेको आफूहरूलाई जानकारी भए पनि पिएसजी उनलाई बेच्न तयार नभएको बताए । ‘हामीलाई यो थाहा छ कि, नेइमार पिएसजी छाड्न चाहन्छन् । तर, हामीलाई यो पनि थाहा छ कि, पिएसजी उनलाई बेच्न चाहँदैन,’ पत्रकारको जवाफ दिँदै बार्टोमेउले भने, ‘त्यसकारण अब नेइमारको विषय छैन, सकियो ।’

त्यसैगरी, बार्टोमेउले एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान भित्र्याउने विषयमा पनि धारणा राखे । उनले ग्रीजम्यानमाथि आफूहरूको चासो रहेको बताउँदै दुई क्लबका अधिकारीबीच छलफल चलिरहेको पुष्टि गरे । ‘यो साँचो हो, ग्रीजम्यानमाथि हाम्रो इच्छा छ । अघिल्लो दिन मात्रै हाम्रा प्रतिनिधि र एथ्लेटिको मड्रिडका प्रतिनिधिबीच बैठक भयो । छलफल चलिरहेको छ ।’

प्रकाशित मिति २१ असार २०७६, शनिबार ०१:३७
Loading...