‘बार्सिलोनाले नेइमार फर्काउन खोज्नु ठूलो गल्ती’

एजेन्सी, असार २०
स्पेनिस क्लब बार्सिलोनाका लिजेन्ड खेलाडी फ्रान्सिस्को जोसे कारास्कोले बार्सिलोनाले पूर्वखेलाडी नेइमार फर्काउनतिर लाग्नुलाई ‘ठूलो गल्ती’ भनेर भनेका छन् । विगतमा बार्सिलोनाको जर्सीमा ११ वर्ष बिताएका उनले बार्सिलोनाका लागि नेइमार सही विकल्प नभएको बताएका हुन् । उनले त्यसबेला बार्सिलोनाका लागि २६२ खेल खेल्दै ४९ गोल गरेका थिए ।

नेइमारलाई बार्सिलोनाले २ वर्षअघि विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजीलाई बेचेको थियो । पेरिसमा दुई सिजन बिताएका नेइमारले यसै समरमा पिएसजी छाड्ने तयारी गरेपछि बार्सिलोना आफ्ना पूर्वस्टार खेलाडीलाई पुनः अनुबन्ध गर्न प्रयास गरिरहेको छ । तर, नेइमार फर्काउन बार्सिलोनाका लागि खेलाडीको मूल्य टाउको दुखाइ बन्ने देखिन्छ ।

बार्सिलोना आफैंले बेचेका महँगा खेलाडी फर्काउन लागिरहँदा कारास्कोले बार्सिलोनाका लागि नेइमार फर्काउने निर्णय गलत हुने बताए । उनले २७ वर्षीय नेइमार क्याम्प नोउका लागि जोखिमपूर्ण निर्णय हुने बताए । ‘नढाँटी भन्दा म नेइमार बार्सिलोना फर्किउन् भन्ने चाहन्नँ,’ कारास्कोले भने, ‘उनी राम्रा खेलाडी हुन् । तर, उनी हिजो जसरी गए, उनलाई स्वागत गर्न सहज छैन ।’

कारास्कोले बार्सिलोनालाई नेइमाको कित्ता छाडेर नयाँ विकल्पमा लाग्न सुझावसमेत दिए । ‘मेरो विचारमा नेइमारको साटो ग्रीजम्यान उचित विकल्प हुन्, सबै हिसाबले । यसो गर्दा क्लबको मोेटो बजेट बचत हुन्छ,’ कारास्कोले भने, ‘त्यो बजेट एकजना सेन्टर डिफेन्डर, एकजना लेफ्ट ब्याक र एकजना सेन्टर फरवार्डमा खर्चिनु उत्तम हुन्छ । ’

कारास्कोले बार्सिलोनाको हालको समस्या भनेको रक्षापंक्तिमा रहेको बताए । ‘मेरो विचारमा बार्सिलोनाले आगामी सिजन पनि रक्षापंक्तिमा ठूलो समस्या भोग्नेछ, यसतर्फ सोचिएको छैन । रक्षापंक्ति सुधार्न ज्यादै आवश्यक छ । टिममा युवा खेलाडी चाहिन्छ,’ कारास्कोले भने, ‘आफ्नो घरमा लिभरपुललाई ३–० ले जितेर अवे मैदानमा ४–० ले कसरी हारियो ? यसको जवाफ कोहीसँग छैन ।’

प्रकाशित मिति २० असार २०७६, शुक्रबार १६:००
Loading...