‘रेफ्रीसँग रिसाएका मेस्सी’लाई ड्यानी आल्भेसका ‘तीन जवाफ’

एजेन्सी, असार २०
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा गत बुधबार भएको सेमिफाइनल खेलमा घरेलु टोली ब्राजिलले पाहुना टोली अर्जेन्टिनालाई २–० ले हरायो । निकै घम्साघम्सीपूर्ण खेलमा पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले सो खेल खेलाउने रेफ्रीको कडा आलोचना गरेका थिए । मेस्सीले रेफ्री रोड्डी जाम्ब्रानोले ब्राजिलको पक्षमा निर्णय लिएको आरोप लगाउँदै यस्तो ठूलो प्रतियोगितामा रेफ्रीले सही निर्णय दिन नसक्नु लाजमर्दो भएको बताएका थिए । सो खेलमा आफूहरूले दुई पेनाल्टी पाउनुपर्नेमा रेफ्रीले नदिएको र अपिल गर्दासमेत भिएआरसम्म नगएको भन्दै चर्को असन्तुष्टि पोखेका थिए ।

मेस्सीले रेफ्रीमाथि गरेको आलोचनाको ठूलै चर्चा पनि भयो । अन्य रेफ्रीले विभिन्न अन्तर्वार्ताक्रममा ब्राजिल र अर्जेन्टिनाको खेल खेलाउने रेफ्रीले थुप्रै कमजोरी गरेको बताएपछि सो विषयले झन् बढी चर्चा पायो । खेलपछि मेस्सीले खेल खेलाउने रेफ्रीको आलोचना गरेपछि ब्राजिलका कप्तान ड्यानी आल्भेसले प्रतिक्रिया दिएका छन् । विगतमा बार्सिलोनामा ८ वर्षसम्म मेस्सीसँगै खेलेका आल्भेस मेस्सीसँग निकै नजिक पनि छन् ।

आल्भेसले मेस्सीको आलोचनाको खण्डन गर्दै रेफ्रीलाई दोष दिनु गलत भएको बताएका छन् । आल्भेसले खेल खेलाउने रेफ्री स्वयं खेल दौरान निकै अत्तालिएको आफूले महसुस गरेको पनि बताएका छन् । त्यसैगरी, उनले अर्जेन्टिना हार्दा मेस्सीमाथि सबैभन्दा बढी दबाब बढेको र उनी आलोचित हुनुपरेको पनि बताएका छन् । आल्भेसले स्पेनिस मिडियासँग दिएको प्रतिक्रिया यस्तो छ :

सामान्यतः रेफ्रीले खेललाई सही तरिकाले नै खेलाउन खोज्छन् । मेस्सीले रेफ्रीलाई दोष दिनु ठीक होइन ।

मलाई मेस्सीको पीडा थाहा छ । सो खेल दौरान हामी खेलाडीभन्दा बढी रेफ्री अत्तालिएका थिए । मैले फुटबलमा यस्तो कमै मात्रै देखेको छु ।

यदि ब्राजिल अर्जेन्टिनासँग हारेको भए त्यहाँ ब्राजिल हारेको हुन्थ्यो । तर, अर्जेन्टिना हार्दा मेस्सीको मात्रै हारजस्तो देखिन्छ । यसले मेस्सीलाई थप दबाबमा पारेको देखिन्छ ।

प्रकाशित मिति २० असार २०७६, शुक्रबार १४:१९
Loading...