राष्ट्रिय टिममा मेस्सीको ‘खराब’ रेकर्ड

एजेन्सी, असार २०
अर्जेन्टिनाका फरवार्ड तथा हाल टोलीको कप्तानी गरिरहेका लिओनल मेस्सी आफ्नो देशका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले अर्जेन्टिनाका लागि हालसम्म कूल ६८ गोल गरिसकेका छन् । टोलीका प्रमुख फरवार्ड मेस्सीमाथि नै उनको टिम अक्सर निर्भर हुँदै आएको छ । तर, यसपटक ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भने मेस्सी निष्प्रभावी देखिए ।

आफ्नो टिम सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएर आउट हुँदा मेस्सीले प्रतियोगिताभरि जम्मा १ गोल मात्रै गरे । उनले समूह चरणमा पेनाल्टीबाट गरेको १ गोल यस प्रतियोगिताको १ मात्रै गोल हो । यसबाहेक उनका नाममा कुनै असिस्ट पनि रहेन । टिमका लागि अक्सर पर्याप्त गोल गर्ने मेस्सीले नकआउट चरणमा गोल निकाल्न नसक्दा उनको ‘गोल स्कोरिङ’माथि एकपटक प्रश्न उठ्यो ।

राष्ट्रिय टिममा मेस्सीको नकआउट चरण र महत्त्वूर्ण खेलहरूमा गोल स्कोरिङ गति निकै कमजोर देखिन्छ । उनले आफ्नो करिअर दौरान अर्जेन्टिनाका लागि ब्राजिलसँगको खेलसहित कूल २० नकआउट चरणका खेल खेलेका छन् । तर, त्यस दौरान उनले मात्रै ४ गोल गर्न सकेका छन् । जबकि, मेस्सीजस्ता खेलाडीका लागि यो निकै कमजोर तथ्यांक हो ।

३२ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म कूल १३५ खेल खेलेका छन् । त्यस दौरान उनले कूल ६८ गोल गरेका छन् । जसमा उनले ६ ह्याट्रिक गरेका छन् । त्यसमा उनले गरेका कूल कुलमध्ये आधाभन्दा बढी त मैत्रीपूर्ण खेलमा गरेका गोल समावेश छन् । यति ठूलो तथ्यांकबीच उनले देशका लागि उपाधि भने जित्न सकेका छैनन् । मेस्सीले अब देशका लागि उपाधि जिताउने प्रतियोगिता खेल्न कम्तीमा एक वर्ष पर्खिनुपर्छ । सन् २०२० मा ४७औं संस्करणको कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा हुँदैछ भने सन् २०२२ मा विश्वकप फुटबल कतारमा हुँदैछ ।

प्रकाशित मिति २० असार २०७६, शुक्रबार १०:०२
Loading...