मेस्सीसँग खेल्न पाउनु मेरो भाग्य : डे जोङ

एजेन्सी, असार २०
स्पेनिस बार्सिलोनाले आफ्ना नयाँ अनुबन्धित खेलाडी फ्रेन्की डे जोङलाई आज औपचारिक रूपमा सार्वजनिक गर्दैछ । २२ वर्षीय स्टार डच खेलाडी डे जोङलाई बार्सिलोनाले गत जनवरीमै आयाक्सबाट अनुबन्ध गरेको थियो । उसले आज एक औपचारिक कार्यक्रमबीच घरेलु रंगशाला क्याम्प नोउमा आफ्ना मिडफिल्डरलाई सार्वजनिक गर्न लागेको हो ।

अघिल्लो दिन बार्सिलोना पुगेर पहिलो चरणको फोटो सुट गराएका डे जोङले बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीसँग खेल्न पाउनु आफ्नो भाग्य भएको बताएका छन् । उनले मेस्सीजस्ता विश्वकै उत्कृष्ट खेलाडीसँग एकै जर्सीमा खेल्ने सबैको इच्छा हुने बताउँदै आफ्नो इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । ‘म ठीकठाक यहाँ आइपुगेको छ, म ज्यादै खुसी छु,’ डे जोङले पत्रकारसँग कुरा गर्दै भने ।

डे जोङले बार्सिलोनाजस्तो एक आदर्श क्लबको जर्सीमा आयाक्सजस्तो सानो क्लबबाट आएर खेल्न पाउनु निकै खुसीको कुरा भएको पनि बताए । ‘मलाई बार्सिलोनाको खेल्ने शैली मन पर्छ । बार्सिलोना र आयाक्सको आदर्शमा फरक छ । तर, म आज यहाँबाट खेल्न गइरहेको छु, यो मेरो करिअरको सबैभन्दा खुसीको दिन हो,’ उनले भने ।

डे जोङले मेस्सीको तारिफ गर्दै आफूले सानैबाट पछ्याएको खेलाडीसँग अहिले आएर खेल्न पाउनु आफ्नो भाग्य भएको बताए । ‘मेस्सीसँग सँगै खेल्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु, जसलाई मैले सधैं हेर्दै आएँ । अब यहाँ आएपछि मेरो आइडल भन्नु नै मेरो सिंगै टिम हुनेछ । म यहाँ एकदमै मज्जा लिन प्रयास गर्नेछु ।’

प्रकाशित मिति २० असार २०७६, शुक्रबार ०५:११
Loading...