बुफोन आफ्नै गाउँ फर्की आए ……

एजेन्सी, असार १९
इटालियन भेट्रान गोलरक्षक जियानलुइजी बुफोन आफ्नो पुरानो घर फर्किएका छन् । विगतमा १७ वर्षसम्म युभेन्टसमा गोल पोस्ट सम्हालेका उनी एक सिजन बाहिर रहेर नयाँ सिजनका लागि पूर्वक्लब नै फर्किएका हुन् । युभेन्टसले आफ्ना लिजेन्ड खेलाडी तथा पूर्वकप्तानलाई आज अनुबन्ध गरेको हो । युभेन्टसले बुफोनसँग आजै स्वास्थ्य जाँच गर्दै अनुबन्धको प्रक्रिया पूरा गरेको छ ।

हाल ४१ वर्ष पुगेका बुफोनसँग युभेन्टसले आगमी एक सिजनका लागि मात्रै सम्झौता गरेको छ । सिजन २०१७÷१८ सकिएसँगै बुफोनले १७ वर्षपछि युभेन्टस छाड्ने घोषणा गर्दै फ्रेन्च क्लब पिएसजी गएका थिए । तर, त्यहाँ एक सिजन बिताएपछि उनी पुनः इटाली नै फर्किएका हुन् । बुफोनका लागि यो नै अन्तिम सरुवासमेत हुनेछ ।

बुफोनले विगतमा सन् २००१ देखि २०१८ सम्म गरी १७ वर्षसम्म युभेन्टसको सिनियर टोलीको पोस्ट सम्हालेका थिए । त्यसक्रममा उनले क्लबबाट खेलेका सबैखाले प्रतियोगिता जिते पनि युरोपियन च्याम्पियन्स लिग भने जित्न सकेनन् । १७ वर्षमा उनले युभेन्टसका लागि कूल ५०९ खेल खेलेका थिए । अब बुफोनले एक सिजन युभेन्टसमा बिताएर फुटबल करिअरबाटै सन्यास लिने तयारी गरेका छन् ।

खास गरी बुफोन युभेन्टस फर्किनुमा दुई कारण रहेको बताइन्छ । पहिलो, क्रिस्टियानो रोनाल्डोसँग एकै जर्सीमा खेल्ने इच्छा पूरा गर्न । बुफोन र रोनाल्डोबीच निकै राम्रो सम्बन्ध छ । विगतमा रोनाल्डो रियल मड्रिडमा छँदा बुफोनको च्याम्पियन्स लिग जित्ने सपना पटक–पटक रोनाल्डोले नै चकनाचुर पारिएका दिएका थिए । सिजन २०१६/१७ मा रियलले युभेन्टसलाई फाइनलमा हराउँदा र त्यसपछि २०१७/१८ मा अन्तिम आठमा युभेन्टसलाई रियलले हराउँदा पनि रोनाल्डो नै बुफोनका लागि ‘भिलेन’ बनेका थिए ।

यद्यपि, रोनाल्डो र बुफोनबीच विगतदेखि नै सुमधुर समबन्ध रहेको छ । गत वर्ष रोनाल्डो रियल छाडेर युभेन्टस गएपछि बुफोनले क्लब छाडिसकेका थिए । पछि रोनाल्डो युभेन्टस पुगेपछि र बुफोन पिएसजीमा अनुबन्ध भएपछि उनले भनेका थिए, ‘क्रिस्टियानो अलि ढिलाए कि म अलि चाँडो हिँडें, थाहा छैन ।’

दोस्रो कारण, बुफोनले आफ्नो करिअरमा खेलेजति सबैखाले प्रतियोगिता जितेका छन् । लिगदेखि विश्वकपसमेत जितेका उनले हालसम्म जित्न नसकेको युरोपियन च्याम्पियन्स लिग हो । तसर्थ, आगामी सिजन युभेन्टसबाट सो प्रतियोगिता जित्ने अपेक्षासहित पनि उनी युभेन्टस फर्किएका हुन् । नयाँ सिजनमा च्याम्पियन्स लिग जित्न युभेन्टसले भव्य तयारी गरिरहेको छ । यसपटक भने ऊ अन्तिम आठबाटै आउट भएको थियो ।

प्रकाशित मिति १९ असार २०७६, बिहीबार १४:४५
Loading...