ब्राजिलसँग हारेपछि आफ्ना खेलाडीलाई अर्जेन्टिनी राष्ट्रपतिको यस्तो सन्देश

एजेन्सी, असार १९
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा लिओनल मेस्सीको टिम अर्जेन्टिना अघिल्लो दिन सेमिफाइनलमा पराजित भयो । घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २–० ले निराश बनाउँदै उसको उपाधि सपनामा पानी पोखिदियो । सो हारपछि अर्जेन्टिना अब तेस्रो स्थानका चिलीसँग खेल्दैछ । सो खेल जिते अर्जेन्टिना कम्तीमा प्रतियोगिताको तेस्रो टिम बन्नेछ ।

आफ्नो देशको टिम ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले आफ्ना खेलाडीलाई सन्देश संप्रेषण गरेका छन् । उनले फाइनल पुग्न सफल टिम ब्राजिललाई बधाई ज्ञापन गर्दै आफ्ना खेलाडीले हारे पनि राम्रो खेलेको बताएका छन् । उनले आफ्ना खेलाडीलाई धैर्य गर्न भन्दै हार–जित स्वीकार्न पनि अनुरोध गरेका छन् ।

सामाजिक सन्जालबाट दिएको सन्देशमा राष्ट्रपतिले आफ्नो टिम र खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको भन्दै सिंगै देशले उनीहरूमाथि गर्व गर्ने पनि बताएका छन् । उनले सन्देशमा लेखेका छन्, ‘यो जित र फाइनल यात्राका लागि ब्राजिलाई हार्दिक बधाई । र, सँगै अर्जेन्टिनाले हारे पनि शानदार खेल्यो । हामी हाम्रा खेलाडीमाथि गर्व गर्छौं । खेलाडी र टिमलाई सम्हालिन अनुरोध छ ।’

प्रकाशित मिति १९ असार २०७६, बिहीबार ११:३२
Loading...