कोपा अमेरिका : चिलीमाथि शानदार जित निकाल्दै पेरू ४४ वर्षपछि फाइनलमा !

काठमाडौं, असार १९
पछिल्ला दुई सिजन ब्याक टु ब्याक च्याम्पियन बनेको टिम चिलीमाथि शानदार जित निकाल्दै पेरू ४४ वर्षपछि ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरूले चिलीलाई ३–० को नमिठो हार चखाउँदै उसको उपाधिमा ह्याट्रिक सपना चकनाचुर मात्रै पारेन, आफू सन् १९७५ पछि पहिलोपटक यस प्रतियोगिताको फाइनलसमेत पुग्न सफल भयो । यससँगै चिलीले अब तेस्रो स्थानका लागि खेल्नेछ भने पेरूले उपाधिका लागि फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।

बलियो टिम चिलीविरुद्ध ‘क्लिन सिट’सहितको सहज जित निकाल्नेक्रममा पेरूले २ गोल पहिलो हाफमा गरेको थियो । पेरूले गरेका ३ वटै  चिलीको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो । उसका लागि खेलको २१औं मिनेटमा इडिसन फ्लोरेसले सुरुआती गोल गरेका थिए । उनले क्यारिल्लोको असिस्टमा निकै सुन्दर गोल गरेका थिए । पहिलो गोल गरेपछि पेरूले थप आक्रामक खेल खेल्दै चिलीमाथि दबाब बढाएको थियो ।

सोहीक्रममा खेलको ३८औं मिनेटमा पेरूले दोस्रो गोल थप्यो । यसपटक योसिमार योटुनले गोल गरे भने यस गोलमा पनि क्यारिल्लो असिस्ट गरे । उनले हानेको कर्नर किक बक्सबाहिर रहेका योटुनले निकै सुन्दर ढंगले छातीले बल नियन्त्रणमा लिएर चिलीका डिफेन्डरका सामुन्नेबाट प्रहार गरेकोमा बलले सोझै जाली चुमेपछि पहिलो हाफमा पेरूले २–० को अग्रता बनाएपछि ऊ जिततर्फ अघि बढेको थियो ।

त्यसपछि दोस्रो हाफमा चिलीले सुरुबाटै खेलमा फर्किन प्रयास गरे पनि सकेन । त्यस दौरान उसले आधा दर्जन गोलका लागि मुभ बनाए पनि २–० को अग्रता बनाएको पेरूले पूरै रक्षात्मक खेल खेल्यो । त्यसैबेला पेरूले तेस्रो गोल थप्यो । ९० मिनेटपछि थपिएको इन्जुरी समयमा पाओलो गुरेरियाले चिलीका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेपछि पेरू ३–० ले अघि रह्यो । उनले ताईपाको असिस्टमा गोल गरेका थिए ।

त्यसपछि खेलको ९५औं मिनेटमा चिलीले पेनाल्टी पायो । बक्समा पेरूका खेलाडीले चिलियन खेलाडीलाई लडाएपछि भिएआरबाट पेनाल्टी दिए पनि इडुराडो भर्गासको पेनाल्टी पेरूका गोलकिपरले आकर्षक तरिकाले बचाएपछि खेल पेरूले ३–० ले जित्यो । अब फाइनलमा जुलाई ८ मा पेरूले ब्राजिलसँग उपाधिका लागि भिडन्त गर्नेछ भने जुलाई ७ मा चिलीले तेस्रो स्थानका लागि ब्राजिलसँग पराजित अर्जेन्टिनासँग खेल्नेछ ।

प्रकाशित मिति १९ असार २०७६, बिहीबार ०२:३०
Loading...