महिला विश्वकप : स्वीडेनलाई हराउँदै नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं, असार १९
थप समयमा गरेको १ मात्रै गोलको मदतमा जित निकाल्दै नेदरल्यान्ड्स फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । गत राति भएको खेलमा डच टिमले स्वीडेनमाथि १–० को कठिन जित निकाल्दै फाइनलमा अमेरिकासँगको उपाधि भिडन्त पक्का गरेको हो । अमेरिका अघिल्लो दिन इंग्ल्यान्डलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि गोल हुन थप समयसम्म कुर्नुपरेको थियो । पहिलो हाफ र दोस्रो हाफमा समेत दुवै पक्षबाट गोल हुन नसकेपछि खेल थप समयमा पुगेको थियो । जसमा खेलको ९९औं मिनेटमा नेदरल्यान्ड्सका लागि ज्याकी ग्रोइनेले निकै दर्शनीय गोल गरेर टिमलाई १–० को अग्रता दिलाएकी थिइन् । त्यसपछि स्वीडेन खेलमा फर्किन सकेन । र, नेदरल्यान्ड्सले सोही अग्रता जोगाएर खेल जित्यो ।

त्यसअघि पहिलो हाफ र दोस्रो हाफमा दुवै टिमले गोलका केही राम्रा मौका बनाएका थिए । दोस्रो हाफमा नेदरल्यान्ड्स र स्वीडेन दुवैका एक–एक प्रहार पोलमा लागेर फर्किएका थिए । तुलनात्मक रूपमा नेदरल्यान्ड्सले बढी आक्रण्मा गरे पनि स्वीडेनले पनि पटक–पटक गोलका राम्रा अवसर बनाएको थियो । तर, उसको बाटोमा कहिले पोल तगारो बन्यो भने कहिले गोलकिपर । खेल अवधिभर नेदरल्यान्ड्सले १५ प्रहार गर्दा स्वीडेनले पनि १२ प्रहार गरेको थियो । यससँगै अब फाइनलमा अमेरिका र नेदरल्यान्ड्सको भिडन्त पक्का भएको छ । अघिल्लो दिन अमेरिकाले इंग्ल्यान्डामाथि २–१ को जित निकालेर फाइनल पुगेको थियो । अब उपाधि भिडन्त जुलाई ७ तारिखमा हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि जुलाई ६ मा खेल हुनेछ । सो खेलमा सेमिमा पराजित इंग्ल्यान्ड र स्वीडेनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति १९ असार २०७६, बिहीबार ०१:२९
Loading...