बालोन डि‘ओर दाबेदारहरूको नयाँ सूची सार्वजनिक, मेस्सी कि भान डाइक ?

एजेन्सी, असार १८
सन् २०१९ का लागि दिइने विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओरका लागि दाबेदारहरूको नयाँ सूची सार्वजनिक भएको छ । ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता सकिन लाग्दा यस वर्षका लागि दिइने सो अवार्डका लागि प्रमुख दाबेदार खेलाडीको सूची सार्वजनिक भएको हो । सार्वजनिक सूचीअनुसार इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइक यसपटक सबैभन्दा बलिया दाबेदार देखिएका छन् ।

यसअघि सबैभन्दा बलिया दाबेदारका रूपमा रहेका लिओनल मेस्सीको टिम अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिकामा सेमिफाइनलबाटै आउट भएपछि मेस्सीलाई छैटौं बालोन डि‘ओर जित्ने मौकामा ठूलो झट्का लाग्ने भएको छ । यसअघि सूचीमा पहिलो नम्बरमा रहँदै आएका मेस्सीलाई कोपा हारेसँगै भान डाइकले पछाडि पारेका छन् । नयाँ सिजन सुरु हुनुभन्दा अघिसम्म मेस्सीलाई ओभरटेक गर्दै भान डाइक सबैभन्दा प्रमुख दाबेदारका रूपमा अघि आएका छन् ।

२७ वर्षी भान डाइकले केही समयअघि सकिएको सिजनमा लिभरपुललाई युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन महत्तवपूर्ण योगदान दिएका थिए भने नेदरल्यान्ड्सलाई युइएफए नेसन्स लिगको फाइनलसम्म लैजान पनि योगदान दिएका थिए । तर, उनीसँग बालोन डि‘ओरका लागि प्रमुख दाबेदार मानिएका मेस्सीको टिम अर्जेन्टिना सेमिमा ब्राजिलसँग २–० ले हारेपछि मेस्सीको दाबेदारी निकै कमजोर बनेको हो ।

मेस्सीका लागि बालोन डि‘ओर जित्न कोपा अमेरिकाको उपाधि निर्णायक मानिएको थियो । तर, कोपामा समग्रमा उनको प्रदर्शन कमजोर रह्यो भने उनले पाँच खेलमा जम्मा १ गोल मात्रै गरे, त्यो पनि पेनाल्टीबाट । उनका नाममा कुनै असिस्ट पनि रहेन । यदि अर्जेन्टिनाले कोपा जितेको थियो भने मेस्सीले निर्विवाद बालोन डि‘ओर जित्ने आँकलन गरिएको थियो । राष्ट्रिय टोलीमा प्रदर्शन कमजोर रहेपछि मेस्सीलाई घाटा हुने भएको छ । जसका कारण उनी करिअरको छैटौं बालोन डि‘ओर जित्ने मौकाबाट टाढा पुगेका छन् ।

अर्जेन्टिनी टोलीमा कमजोर प्रदर्शन गरे पनि मेस्सीले सिजन २०१८÷१९ मा बार्सिलोनाका लागि व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरेका थिए । उनले सिजनभरिमा कूल ५१ गोल गर्दै १९ गोलका लागि असिस्ट गरेका थिए । वर्ष २०१९ मा मात्रै उनले क्लबका लागि ३० गोल गरेका छन् । यस वर्ष उनले देश र क्लबका लागि गरेको कूल गोल संख्या कूल ३१ भएको छ, जुन सर्वाधिक धेरै हो ।

सार्वजनिक सूचीमा पहिलो नम्बरमा भान डाइक रहँदा दोस्रोमा मेस्सी छन् । तेस्रो नम्बरमा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । पोर्चुगललाई नेसन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएपछि उनको बालोन डि‘ओर दाबेदारीमा अवस्था सुध्रिएको हो । यस वर्ष रोनाल्डोले क्लब युभेन्टसबाट दुई उपाधि र देशबाट एक गरी कूल तीन उपाधि जितेका छन् ।

यस्तो छ सार्वजनिक सूची :

प्रकाशित मिति १८ असार २०७६, बुधबार १४:५७
Loading...