कोपा अमेरिका : दोस्रो सेमिफाइनल खेलमा चिली र पेरु भिड्दै

काठमाडौं, असार १८
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो  ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भोलि दोस्रो सेमिफाइनल खेल हुँदैछ । फाइनल पुग्न दोस्रो खेलमा साबिक विजेता चिली र पेरु आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान ६ः१५ बजेबाट एरेना डो ग्रेमिओ रंगशालामा सुरु हुनेछ । यो खेलपछि फाइनल खेल्ने दुवै टिमको टुंगो लाग्नेछ भने तेस्रो स्थानका लागि खेल्ने टिमको पनि टुंगो लाग्नेछ । प्रतियोगितामा अब मात्रै तीन खेल हुन बाँकी छन् । जसमा सेमिफाइनलको एक, तेस्रो स्थानको एक र फाइनल खेल हुनेछन् ।

यसअघि पेरुले क्वार्टरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ५–४ ले निराश बनाएको थियो । पेनाल्टीमा लुइस स्वारेजले आफ्नो पेनाल्टी गुमाउँदा उपाधि दाबेदार उरुग्वे प्रतियोगिताबाट आउट भएको थियो । साबिक विजेता चिलीले पनि कोलम्बियालाई पेनाल्टीमै ५–४ ले नै हराएर सेमिमा स्थान बनाएको थियो । चिली र पेरु दुवैले क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकाले भोलि हुने यो खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । चिलीले प्रतियोगिताभर शतप्रतिशत जित निकालेको तथा निर्धारित ९० मिनेटमा १ गोल पनि नखाएको कोलम्बियालाई हराएको थियो ।

चिली कोपाका पछिल्ला दुई संस्करण ब्याक टु ब्याक जित्ने टोली हो । यसपटक पनि ऊ उपाधि होडमै छ । चिली यसपटक यो उपाधि जितेर ह्याट्रिक गर्ने दाउमा छ । त्यसका लागि उसले सेमिमा पेरुलाई हराएर फाइनलमा उपाधिका लागि प्रतियोगिता आयोजक टोली ब्राजिलसँगको भेट पक्का गर्नुपर्ने हुन्छ । चिली अहिले जुन लयमा खेलिरहेको छ, त्यसबाट उसले फाइनल पुग्ने क्षमता राख्छ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिलीका खेलाडी अर्टुरो भिडालले यसपटक पनि आफूहरू उपाधि जित्ने होडमा रहेकाले सेमिफाइनलमा पराजित हुने छुट नरहेको बताएका छन् ।

चिली र पेरुबीचको विजेताले कोपाको फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिल आजै बिहान अर्जेन्टिनालाई २–० ले हराएर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पराजित टिमले प्रतियोगिताको तेस्रो स्थानका लागि आज बिहान ब्राजिलसँग पराजित लिओनल मेस्सीको टिम अर्जेन्टिनासँग खेल्नेछ । फाइनल खेल जुलाई ८ तारिखमा हुँदैछ । त्यसअघि तेस्रो स्थानका लागि हुने खेल जुलाई ७ तारिखमा हुनेछ ।

प्रकाशित मिति १८ असार २०७६, बुधबार १०:५४
Loading...