महिला विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै अमेरिका फाइनलमा

काठमाडौं, असार १९
अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । गत राति भएको सेमिफाइनल खेलमा अमेरिकाले बलियो टोली इंग्ल्यान्डलाई २–१ ले निराश बनाउँदै फाइनलमा स्थान बनाएको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा अमेरिकाले खेलको पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । खेलमा भएका ३ वटै गोल पहिलो हाफमा भएका थिए । इंग्ल्यान्ड खेलको अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो भने इंग्ल्यान्डले एक पेनाल्टीसमेत खेर फालेको थियो ।

सुरुबाटै आक्रामक खेल खेलेको अमेरिकाका लागि खेलको १०औं मिनेटमै क्रिस्टेन प्रेसले दर्शनीय हेडिङ गोलबाट अग्रता दिलाएकी थिइन् । उनको आकर्षक हेडिङ गोल इंग्ल्यान्डकी गोलरक्षकले बचाउन प्रयास गरे पनि सकिनन् । उनका लागि ओहाराको आकर्षक पास मिलाएकी थिइन् । त्यसपछि इंग्ल्यान्ड गोल खाएको ९ मिनेटमै खेलमा फर्कियो । उसका लागि इलेन ह्वाइटले गोल बक्स भित्रबाट स्लिप प्रहार गर्दै गरेकी थिइन् । सो गोलमा मियडले असिस्ट गरेकी थिइन् । त्यसपछि अमेरिकाले फेरि खेलको ३१औं मिनेटमा अग्रता लियो । यसपटक भने एलेक्स मोर्गानले गोल गरिन् । उनले पनि उस्तै आकर्षक हेडिङ गोल गरेकी थिइन् । सो गोलमा होरानले असिस्ट गरेकी थिइन् ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको अमेरिकाले खेलभरि सोही अग्रता बचाएर खेल जित्यो । दोस्रो हाफमा इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । खेलको ८४औं मिनेटमा पाएको पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड हारतर्फ धकेलिएको थियो । अमेरिकाका खेलाडीले बक्समा विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा इंग्ल्यान्डकी स्टेफ होउगटनले प्रहार गरेको पेनाल्टी अमेरिकाकी गोलकिपरले सहजै बचाएपछि इंग्ल्यान्ड खेलमा फर्किनबाट चुकेको थियो ।

त्यसपछि खेलको ८६औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । मिल्ले ब्राइट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट छाडेकी थिइन् । त्यसपछि निर्धारित ९० मिनेट र इन्जुरी समयमा समेत दुवै पक्षबाट गोल नभएपछि खेल अमेरिकाले २–१ ले जित्यो । अब अमेरिकाले आज राति दोस्रो सेमिफाइनलमा हुने नेदरल्यान्ड्स र स्वीडेनको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।

प्रकाशित मिति १८ असार २०७६, बुधबार ००:३७
Loading...