कोपा अमेरिकामा ब्राजिलभन्दा अर्जेन्टिना बलियो : यस्तो छ तथ्यांक

काठमाडौं, असार १७
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा नेपाली समयअनुसार भोलि बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । प्रतियोगिता आयोजक टिम ब्राजिल र पाहुना टोली अर्जेन्टिना प्रतियोगिताको फाइनल पुग्न सेमिमा आमनेसामने हुन लागेका हुन् । यो खेल नेपाली समयअनुसार भोलि (बुधबार) बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताका दुई प्रमुख उपाधि दादेदार टिम सेमिमै भिड्न लागेकाले यो खेल प्रतीक्षाको खेल बनेको छ ।

दक्षिण अमेरिकी क्षेत्रका दुई ठूला टिम ब्राजिल र अर्जेन्टिनाले हालसम्म सबैखाले प्रतियोगिता गरेर कूल १०९ पटक खेलेका छन् । जसमा समग्रमा ब्राजिलले बढी जित निकालेको छ । उसले १०९ मध्ये ४५ खेल जित्दा अर्जेन्टिनाले ३९ खेल जितेको छ । त्यसैगरी, २५ खेल भने बराबरीमा सकिएका छन् । यो रेकर्डबाट औसतमा अर्जेन्टिना ब्राजिलसँग केही कमजोर देखिन्छ ।

तर, सम्पूर्ण प्रतियोगितामा ब्राजिल अर्जेन्टिनामाथि हाबी भए पनि कोपा अमेरिकामा भने अर्जेन्टना ब्राजिलभन्दा निकै बलियो छ । अर्थात्, अर्जेन्टिनाको रेकर्ड बलियो छ । कोपामा खेलिएका कूल खेलमध्ये करिब ५० प्रशित खेल अर्जेन्टिनाले जितेको छ । तुलानात्मक रूपमा गोल पनि ब्राजिलले भन्दा बढी अर्जेन्टिनाले गरेको छ । कोपामा हालसम्म अर्जेन्टिनाले ब्राजिलभन्दा १४ गोल बढी गरेको छ ।

यस्तो छ कोपामा दुई देशको तथ्यांक :

कूल खेल – ३२

अर्जेन्टिना विजयी – १५

ब्राजिल विजयी – ९

बराबरी – ८

३२ खेलमा दुई देशको कूल गोल संख्या :

अर्जेन्टिना– ५२

ब्राजिल गोल ३८

प्रकाशित मिति १७ असार २०७६, मंगलवार १४:०३
Loading...