कोभासिसलाई रियलले स्थायी रूपमै चेल्सीलाई बेच्यो

एजेन्सी, असार १७
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना क्रोएसियन मिडफिल्डर माटेको कोभासिसलाई इंग्लिस क्लब चेल्सीलाई बेचेको छ । अघिल्लो सिजन लोनमा चेल्सी पुगेका कोभासिसलाई रियलले स्थायी रूपमै बेचेको हो । कोभिससका लागि चेल्सीले रियललाई ४० मिलियन पाउन्ड सरुवा फी तिरेको छ ।

चेल्सीमा लोनमा पहिलो सिजन बिताएका कोभासिसले सिजनभर कूल ५१ खेल खेले । जसमा उनी ३६ खेलमा सुरुआती टोलीमा परेका थिए । २५ वर्षीय कोभासिसले चेल्सीलाई युरोपा लिगको उपाधि जिताउन पनि योगदान दिएका थिए । सो खेलमा चेल्सीले आर्सनललाई ४–१ ले हराएर उपाधि जित्दा कोभासिस ३ गोलमा सहभागी थिए ।

रियलले कोभासिसलाई ४ वर्षअघि इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गरेको थियो । रियल मड्रिडमा रहँदा उनले कूल ७३ खेल खेल्दै १ गोल गरेका थिए । रियलका जिनेदिन जिदान प्रशिक्षक छँदा प्राथमिकतामा पर्न नसकेपछि कोभासिस खेल्न नपाएको भन्दै लोनमा चेल्सी जान राजी भएका थिए ।

प्रकाशित मिति १७ असार २०७६, मंगलवार ११:२९
Loading...