कोपा अमेरिका : सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिनाको ‘महाडिभन्त’ हुँदै !

काठमाडौं, असार १७
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा नेपाली समयअनुसार भोलि बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । आफ्नो भूमिमा खेलिरहेको ब्राजिल र पाहुना टोली अर्जेन्टिना प्रतियोगिताको फाइनल पुग्न सेमिमा आमनेसामने हुन लागेका हुन् । यो खेल नेपाली समयअनुसार भोलि (बुधबार) बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताका दुई प्रमुख उपाधि दादेदार टिम सेमिमै भिड्न लागेकाले यो खेल प्रतीक्षाको खेल बनेको छ ।

ब्राजिल र अर्जेन्टिना विश्व फुटबलमा चीर प्रतिद्वन्द्वी टोली हुन् । यी दुई देशको प्रतिस्पर्धाको इतिहास धेरै लामो छ । यी टोली भिड्दा सधैं उच्च चर्चा हुने गर्छ । यसपटक पनि कोपामा यी दुई टोली फाइनलअगावै भेटिएपछि यो खेलले झनै महत्त्व पाएको छ । लिओनल मेस्सीको टिम अर्जेन्टिना र नेइमारको टिम ब्राजिलको भिडन्तका रूपमा हेरिए पनि यस खेलमा नेइमार टोलीमा छैनन् । चोटका कारण उनी प्रतियोगिताबाहिर रहेका छन् । यो खेल हुँदा नेइमार दर्शकदीर्घामा हुनेछन् ।

यसअघि क्वार्टरफाइनलमा ब्राजिलले पराग्वेलाई पेनाल्टी सुटआउमा ४–३ ले हराएर सेमिफाइनल पुग्दा अर्जेन्टिनाले भेनेज्वेलालाई २–० ले हराएर सेमिमा ब्राजिलसँगको भेट पक्का गरेको थियो । घरेलु टोली ब्राजिलले समूह चरण र क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेर अघि बढे पनि अर्जेन्टिनाले भने समूह चरणबाटै ठूलै संघर्ष गर्नुपरेको थियो । अर्जेन्टिना खास गरी यस प्रतियोगितामा लयमा छैन । त्योभन्दा बढी टोलीका मुख्य फरवार्ड तथा कप्तान मेस्सी लयहीन देखिएका छन् ।

आफ्नो घरमा खेलिरहेको ब्राजिल आफ्नो खास प्रतिस्पर्धीविरुद्ध उत्रिँदा ऊसँग पहिलो रोजाइका सबै खेलाडी उपलब्ध हुनेछन् । यस खेलमा पनि ब्राजिलको गोल पोस्ट एलिसन बेकरले नै सम्हाल्ने लगभग पक्का छ । रक्षापंक्ति र मिडफिल्डमा पहिलो सेटका खेलाडी उत्रिँदा आक्रमण लाइनमा रोवर्ट फर्मिन्हो, ग्याब्रिएल जेसस, डेभिड नेरेसलगायत खेलाडीले सुरुआत गर्ने सम्भावना छ । एभर्टनलाई प्रशिक्षक टिटेले बेन्चबाट प्रयोग गर्न सक्नेछन् ।

यता, अर्जेन्टिनी टिममा मेस्सीको कप्तानीमा पहिलो रोजाइको टिम उत्रिनेछ । यस खेलमा पनि आक्रमण लाइनमा मेस्सीलाई सर्जियो अगुएरो र लौटारो मार्टिनेजले सघाउने सम्भावना छ । खेलअघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक लिओनल स्कालोनीले यस खेलमा ठूलो पविर्तन नहुने उल्लेख गर्दै अगुएरोले सुरुआत गर्ने बताइसकेका छन् । यस खेलमा पाउलो डिबालाले बेन्चबाटै सुरु गर्ने सम्भावना छ भने एन्जल डि मारियाले भने सुरुआतबाटै खेल्ने सम्भावना छ । बलियो टिमविरुद्धको खेल भएकाले अनुभवी डि मारियालाई स्कालोनीले सुरुबाटै खेलाउन सक्नेछन् ।

आजको खेल हुन लागेको मिनेराओ (पूरा नाम– इस्टाडिओ गोभर्नाडोर मेगाल्हाएस पिन्टो, बेलो होरिजोन्टे) त्यही रंगशाला हो, जहाँ सन् २०१४ को विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको थियो । ब्राजिल आज कोपाको सेमिफाइनल खेल सोही रंगशालामा खेल्दैछ । तर, यसपटक जर्मनीको साटो उसको प्रतिस्पर्धी अर्जेन्टिना हुनेछ । तसर्थ, ब्राजिल आज सो मैदानमा ५ वर्षअघि भोगेको लज्जास्पद हारको इतिहासलाई साक्षी राखेर अर्जेन्टिनाविरुद्ध उत्रिँदा जितको कथा लेख्न प्रयास गर्नेछ ।

प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०५:४१
Loading...