ब्राजिलका प्रशिक्षक भन्छन्– ‘मेस्सीलाई रोक्न असम्भव’

एजेन्सी, असार १७
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भोलि (बुधबार) बिहान पहिलो सेमिफाइनल खेलमा आयोजक ब्राजिल र पाहुना टोली अर्जेन्टिना खेल्दैछन् । प्रतियोगिताका दुई ठूला टोली सेमिफाइनलमै खेल्ने भएपछि सो खेल धेरैका लागि प्रतीक्षाको खेल बनेको छ । सो खेलबाट दुवै टिम एकअर्कालाई पन्छाएर उपाधिनजिक पुग्ने दाउमा छन् । यो खेल जसले जित्छ, उही टिमलाई सम्भावित च्याम्पियन टिमका रूपमा पनि हेरिएको छ । तर, ब्राजिल आफ्नो घर र घरेलु दर्शकबीच खेल्ने हुँदा अर्जेन्टिनाविरुद्ध उत्रिँदा ऊसँग उच्च मनोबल हुनेछ । उसले यसको फाइदा लिन भरमग्दुर प्रयास गर्नेछ ।

सो खेलअघि ब्राजिलका प्रशिक्षक टिटेले अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको प्रशंसा गरेका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिटेले अर्जेन्टिनाविरुद्ध खेल्दा कप्तान मेस्सीलाई रोक्न असम्भव हुने बताएका हुन् । उनले मेस्सी अहिले आफ्नो उत्कृष्ट लयमा नरहे पनि उनी जुनसुकै बेला लयमा फर्किने खेलाडी भएकाले सेमिफाइनल खेलमा उनीबाट डर रहेको बताए । मेस्सीजस्ता खेलाडी भएको टिमविरुद्ध नकआउट चरणमा खेल्नु जहिल्यै चुनौती हुने पनि टिटेले उल्लेख गरेका छन् ।

‘हामी टिम अर्जेन्टिनाविरुद्ध खेल्न गइरहेका छौं । यो व्यक्तिगत खेलाडीसँगको प्रतिस्पर्धा होइन । अर्जेन्टिनासँग मिश्रित टोली छ, जो निकै राम्रो छ,’ खेलअघि पत्रकार सम्मेलनमा टिटेले भने, ‘यदि तपाईं मेस्सीजस्तो खेलाडी भएको टिमविरुद्ध खेल्दै हुनुहुन्छ भने अवश्य पनि त्यहाँ चिन्ता हुन्छ । किनभने, अक्सर उनलाई मैदानमा रोक्न असम्भवजस्तै हुन्छ । मलाई थाहा छ, यो खेलमा उनले आफ्नो उत्कृष्ट स्तर देखाउन प्रयास गर्नेछन् । हामी उनलाई नजरअन्दाज गर्न सक्दैनौं ।’

टिटेले आफ्ना खेलाडीबारे धारणा राख्दै सबै खेलाडी अर्जेन्टिनाविरुद्धको खेलका लागि तयार रहेको बताए । उनले आफ्नो टोलीमा पनि निर्णायक नतिजा दिन सक्ने खेलाडी रहेको उल्लेख गर्दै योजनाअनुसार खेलेर नतिजा निकाल्न प्रयास गर्ने बताए । ‘मेरो टोलीमा कोउटिन्होजस्ता प्राकृतिक खेलाडी छन् । उनले आफ्नो स्तर यस खेलमा देखाउनेछन् । फर्मिन्हो र नेरेसको यस खेलमा महत्त्वपूर्ण भूमिका हुनेछ । म सबै खेलाडीबाट अधिकतम् प्रदर्शन चाहन्छु ।’

प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०३:३६
Loading...