रासफोर्डले युनाइटेडसँग सम्झौता लम्ब्याए

एजेन्सी, असार १६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मार्कुस रासफोर्डले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । २१ वर्षीय युवा फरवार्डले युनाइटेडसँग आगामी ४ वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् । आज युनाइटेडले अफिसियल रूपमा इंग्ल्यान्डका स्टार खेलाडीसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेको पुष्टि गरेको छ ।

इंग्लिस मिडियाका अनुसार रासफोर्डले अब प्रतिसाता २ लाख पाउन्ड कमाइ गर्नेछन् । रासफोर्ड युनाइटेडको एकेडेमीबाट उत्पादित खेलाडी खुन् । उनी ७ वर्षको छँदादेखि युनाइटेडमा रहँदै आएका छन् । हालसम्म उनले युनाइटेडको सिनियर टोलीबाट कूल १७० खेलेका छन् राष्ट्रिय टिमबाट ३२ खेल खेलिसकेका छन् ।

सम्झौता बढाएपछि रासफोर्डले युनाइटेड आफ्नो घर रहेको बताउँदै सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताए । आफू युनाइटेडमा खुसी रहेकैले सम्झौता लम्ब्याएको पनि उनले बताए । ‘यो मेरो घर हो, जहाँ म ७ वर्षदेखि छु । म अझै यहाँ जीवनका थुप्रै सुनौला वर्षहरू बिताउन चाहन्छु,’ सम्झौता नवीकरणपत्रमा हस्ताक्षर गरेपछि मिडियासँग बोल्दै रासफोर्डले भने ।

यसअघि रासफोर्डलाई स्पेनिस क्लब बार्सिलोनाले भित्र्याउन चाहेको थियो । बार्सिलोनाले आफ्ना उरुग्वेन खेलाडी लुइस स्वारेजको दीर्घकालीन विकल्पका रूपमा रासफोर्ड अनुबन्ध गर्न चाहेको थियो । तर, बार्सिलोनाको चासोलाई युनाइटेडले सोझै नकारेपछि बार्सिलोना रासेफोर्ड भित्र्याउने दौडबाट पछि हटेको थियो ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार १४:४६
Loading...