अर्जेन्टिनी टिममाथि रोड्रिग्वेजको यस्तो व्यंग्य !

एजेन्सी, असार १६
हामेस रोड्रिग्वेजको टिम कोपा अमेरिका फुटबलमा क्वार्टरफाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाटै आउट भयो । समूह चरणमा ३ वटै खेल जितेर उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण पुगेको उसलाई साबिक विजेता चिलीले पेनाल्टीमा ५–४ ले स्तब्ध बनायो । कोलम्बियाले एक पेनाल्टी गुमाउनु हारको मुख्य कारण बन्यो । त्यससँगै उपाधि जित्ने उसको सपना पनि अन्त्य भयो ।

कोलम्बिया जारी प्रतियोगितामा एक मात्रै यस्तो टिम हो, जसले निर्धारित ९० मिनेटको खेलमा १ गोल पनि नखाई प्रतियोगिताबाट आउट भयो । तर, पेनाल्टीमा भने उसलाई भाग्यले साथ दिएन । उसले नकआउट चरणमा ४ गोल गर्दा आफूले १ गोल पनि खानुपरेन । उसले पहिलो खेलमा अर्जेटिनालाई २–०, कतारलाई १–० र पराग्वेलाई पनि १–० ले नै हराएको थियो । गोलअन्तरका हिसाबले सानो अन्तरको जित भए पनि समग्रमा उसका लागि यो शानदार जित थियो ।

यस्तो अवस्थाबीच प्रतियोगिताबाटै आउट भएपछि कोलम्बियाका कप्तानमसेत रहेका रोड्रिग्वेजले अर्जेन्टिनाले क्वार्टरफाइनल पुग्दासम्म खराब खेले पनि अहिले सेमिफाइनल पुगेको र आफूहरू उत्कृष्ट खेलेर पनि आउट भएको भन्दै टिप्पणी गरेका छन् । । ‘फुटबल कहिल्यै पनि भनेजस्तो हुँदैन, जस्तो मानिस सोच्छन् । जस्तो कि, अर्जेन्टिनाले समूह चरणमा मरे बराबरको अवस्थाबाट खेल्यो । तर, उनीहरू अहिले सेमिफाइनलमा छन् । र, हाम्रो टिम कोलम्बिया प्रतियोगिताबाट बाहिर । जब कि, हामीले हरेक जित शानदार गरेका थियौं, गोल नखाई ।’

रोड्रिग्वेजले आफूहरूका लागि हारे पनि कोपा सम्झनायोग्य रहेको पनि बताए । उनले अघि थपे, ‘हाम्रा लागि कोपा साँच्चै सम्झनालायक रह्यो । किनभने, यो प्रतियोतिामा निर्धारित समयमा अपराजित टिम हामी मात्रै हौं । यसमानेमा हामी खुसौं छौं । दुःखी यसकारण छौं कि, हामी पेनाल्टीमा असफल भयौं । मेरो विचारमा हामी पनि उपाधि जित्न सक्षम टिम थियौं ।’

कोपाको सम्भावित च्याम्पियनबारे पनि रोड्रिग्वेजले आफ्नो मत राखेका छन् । उनले साबिक विजेता चिली र आयोजक ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानेका छन् । ‘सेमिफाइनल पुगेका सबैको लक्ष्य उपाधि नै हो । तर, च्याम्पियन एक मात्रै टिम बन्छ । मेरो विचारमा चिली र ब्राजिलमध्ये एक च्याम्पियन बन्नसक्छ । ब्राजिल घरेलु टोली भएकाले उनीहरूले यसको फाइदा लिन सक्छन् ।’

प्रकाशित मिति १६ असार २०७६, सोमबार ०८:५८
Loading...