‘मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी’

एजेन्सी, असार १६
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पाहुना टोली अर्जेन्टिनासँग खेल्नुअघि ब्राजिलका खेलाडी थियागो सिल्भाले कप्तान लिओनल मेस्सीको तारिफ गरेका छन् । २ दिनपछि कोपामा ब्राजिल र अर्जेन्टिना फाइनल पुग्न सेमिफाइनलमा आमनेसामने हुँदैछन् । सो खेलको पूर्वसन्ध्यामा सिल्भाले मेस्सी धर्तीकै सर्वोत्कृष्ट खेलाडी भएको भन्दै तारिफ गरेका हुन् । सिल्भाले मेस्सीको टिमविरुद्ध खेलेका अनुभवका आधारमा आफूले उनलाई सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा पाएको बताएका हुन् । सिल्भाले बताएका छन् कि, मेस्सीको टिमविरुद्ध खेल्न सधैं कठिन हुन्छ । र, उनको टिमविरुद्ध बनाएका जस्तोसुकै योजना पनि मैदानमा फिका हुने गरेका छन् ।

सिल्भाले भने, ‘मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनीविरुद्ध क्लब र देशबाट खेलेको अनुभवले मलाई यही भन्छ ।’ सिल्भाले मेस्सीको खेल कौशल र गुणस्तरलाई जति बुझे पनि झन् कठिन हुने बताए । मेस्सीले हरेक समय फरक–फरक तरिकाले काम गर्ने र विपक्षी टिमका लागि उनी टाउको दुखाइ बन्ने गरेको उनको भनाइ छ । ‘मेस्सीको बारेमा जति पढे पनि उनको स्तर नाप्न र उनका तरिका थाहा पाउन सकिँदैन, उनी विल्कुलै फरक क्षमताका खेलाडी हुन् । उनले कसैले नसोचेको स्तरबाट प्रदर्शन गर्ने क्षमता राख्छन् । यो नै उनको खास विशेष हो,’ सिल्भाले भने ।

सेमिफाइनल खेलको विषयमा बोल्दै सिलभाले अर्जेन्टिना बलियो टिम भए पनि आफूहरू तयार रहेको बताए । सो खेलका लागि आफूहरूले हरेक तवरले तयारी गरिरहेको पनि उनको भनाइ छ । ‘सबैलाई थाहा छ कि, यो खेल दुवै टिमका लागि कठिन हुनेवाला छ । किनभने, यो खेलको महत्त्व कति छ भन्ने कुरा दुवै टिमले राम्रोसँग बुझेका छन् । मेस्सीको टिमविरुद्ध खेल्न कहिल्यै पनि सजिलो हुँदैछ । यस खेलमा पनि यस्तै हुनेछ,’ सिल्भाले भने, ‘तर, हामी खेल जितेर फाइनल पुग्न चाहन्छौं । किनभने, उपाधि जित्नु हाम्रो लक्ष्य हो । हामीलाई आफ्नै घरमा घरेलु दर्शकमाझ हार्ने छुट छैन ।’

प्रकाशित मिति १६ असार २०७६, सोमबार ०३:५२
Loading...