जर्मनीलाई हराउँदै स्पेनले जित्यो युरो यु–२१ को उपाधि

काठमाडौं, असार १६
फुटबलको पावर हाउस राष्ट्रय स्पेनले युरो कप यु–२१ को उपाधि जितेको छ । गत राति इटालीमा भएको फाइनल खेलमा उसले आफ्नो खास प्रतिस्पर्धी जर्मनीलाई २–१ ले निराश बनाउँदै पाँचौंपटक उपाधि पोल्टामा पार्न सफल भएको हो । स्पेनले खेल सुरु भएदेखि अन्तिमसम्म नियन्त्रण कायम राखेर जित निकालेको हो ।

स्पेनले जित निकाल्नेक्रममा पहिलो हाफमा १ गोल गरेको थियो भने दोस्रो हाफमा १ गोल गरेर आफूले पनि १ गोल खाएको थियो । उसका लागि खेल सुरु भएको सातौं मिनेटमै फावियन रुईजले गोल गरेर टिमलई सुरुआती अग्रता दिलाएका थिए । सोही गोलको मदतमा स्पेनले पहिलो हाफमा संघर्षपूर्ण १–० को अग्रता कायम राख्न सफल भयो ।

त्यसपछि दोस्रो हाफमा स्पेनले १ गोल हान्यो भने आफूले पनि खेलको अन्तिम समयमा १ गोल खायो । उसका लागि खेलको ६९औं मिनेटमा ड्यानी अल्मोले दोस्रो गोल गरेर टिमलाई २–० को अग्रतासहित जितको बाटो देखाएका थिए । तर, खेलको ८८औं मिनेटमा जर्मनीका लागि आमिरीले गोल गर्दै खेल २–१ बनाए पनि उसले थप गोल गर्न नसक्दा खेल स्पेनले २–१ ले जित्यो ।

यससँगै स्पेनले यो उपाधि कूल पाँचपटक जितेको छ । अब यो उपाधि सर्वाधिक धेरै ५–५ पटक जित्ने टिम इटाली र स्पेन बनेका छन् । पराजित जर्मनीले भने यो उपाधि हालसम्म मात्रै दुईपटक जितेको छ । सन् २०१७ को अघिल्लो संस्करणमा जर्मनीले नै स्पेनलाई हराएर उपाधि जितेको थियो । यसपटक स्पेनले जर्मनीसँग सो हारको बदला लिँदै उपाधि जित्न सफल भयो ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार ०१:४६
Loading...